बैंकिङ प्रणालीमा पैसा थुप्रिएपछि रिभर्स रिपोको ब्याजदर अत्यन्त न्यून

0
Shares

वित्तीय प्रणालीमा अधिक तरलता थुप्रिएपछि रिभर्स रिपोको ब्याजदर लगातार घट्ने क्रममा रहेको छ । राष्ट्र बैंकले साउन लागेपछि जारी गरेको रिर्भस रिपोको ब्याजदर लगातार घट्दै अत्यन्त न्यून विन्दुमा झरेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको २० अर्बको रिर्भस रिपोको औसत ब्याजदर ०.०२२८ प्रतिशत कायम भएको छ । यो हालसम्मकै न्यून ब्याजदर हो ।

राष्ट्र बैंकका अनुसार, अहिले बैंकिङ प्रणालीमा २०० अर्ब रुपैयाँभन्दा बढि तरलता छ। अधिक तरलताले निक्षेपको ब्याज तल आइसकेको छ भने बैंकहरुले ऋणको ब्याजदर घटाउन थालेका छन् ।

चालु आर्थि वर्ष सुरु भएयता राष्ट्र बैंकले वित्तीय प्रणाणीबाट तीन पटकमा गरेर ६० अर्ब रुपैयाँ बजारबाट तानिसकेको छ। राष्ट्र बैंकले साउन ८, १५ र २२ गते गरेर २०/२० अर्बका दरले रिभर्स रिपो जारी गरेको हो। बजारमा अधिक तरलता भएका कारण रिर्भस रिपोको ब्याजदर समेत लगातार घटेको छ ।

साउन ८ गतेको रिभर्स रिपोका लागि २२ वटा संस्थाबाट विभिन्न दरमा १३५ वटा आवेदन परेका थिए। बैंकहरुले ६८ अर्ब २० करोड रुपैयाँ बुझाउन चाहेका थिए । उनीहरुले ०.०४६४ प्रतिशत औसत ब्याजदर कबुलेका थिए।

साउन १५ गते जारी भएको २० अर्बको रिभर्स रिपेको लागि १९ वटा संस्थाले १२३ वटा आवेदन मार्फत ८३ अर्ब ५ करोड रुपैयाँको बुझाउन खोजेका थिए । जसको औसत ब्याजदर ०.०३३० प्रतिशत कायम भएको छ।

त्यस्तै साउन २२ गते जारी भएको २० अर्बको रिभर्स रिपेको लागि १७ वटा संस्थाले ७७ वटा आवेदन मार्फत ७० अर्ब ९० करोड रुपैयाँको बुझाउन खोजेका थिए । जसको औसत ब्याजदर ०.०२२८ प्रतिशत कायम भएको छ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।