लक्ष्मी उन्नति कोषको सबै इकाई बिक्यो, ३५ हजार बढीले गरे आवेदन

0
Shares

लक्ष्मी क्यापिटलले साउन ११ गतेदेखि साउन २५ गतेसम्म बिक्रीमा ल्याएको तेस्रो बन्दमुखी म्युचुअल फण्ड ‘लक्ष्मी उन्नति कोष‘ को सबै इकाई बिक्री भएको छ।

लक्ष्मी क्यापिटलका अनुसार अन्तिम दिन आइतबारसम्ममा लक्ष्मी उन्नति कोषको ८२ करोड २६ लाख ८० हजार ७०० रुपैयाँ बराबरको ८ करोड २२ लाख ६८ हजार ७० इकाई खरीदका लागि माग परेको छ। यो प्रारम्भिक तथ्याङ्क हो। प्रारम्भिक तथ्याङ्क अनुसार ३५ हजार ६३२ वटा आवेदनबाट उक्त परिमाणमा इकाई खरीदका लागि माग भएको  क्यापिटलले जनाएको छ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कूल ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्रीमा ल्याएको थियो।

जसमध्ये १५ प्रतिशत इकाई अर्थात १ करोड २० लाख इकाई कोष प्रबद्र्धक लक्ष्मी बैंकलाई सुरक्षित राखेर बाँकी ६० करोड ८० लाख बराबरको ६ करोड ८० लाख इकाईमा सर्वसाधारणबाट आवेदन माग गरिएको थियो।

फण्डको इकाईमा छिटोमा साउन १५ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएकोमा सो अवधिमा सबै इकाई बिक्री नभएपछि कम्पनी, संस्था र अन्य कोषहरुले समेत लगानी गर्न पाउने गरी साउन २५ गतेसम्म आवेदन खुला गरिएको थियो।

इक्रा नेपालले कोष प्रवद्र्धकलाई ‘इक्रा एनपी आईआर बीबीबी प्लस’ र कोष व्यवस्थापकलाई ‘इक्रा एनपि एएमसी क्वालिटी ३’ रेटिङ्ग प्रदान गरेको छ।

इकाई बिक्रीबाट संकलित रकम धितोपत्र बोर्डमा दर्ता भएको धितोपत्र, सार्वजनिक निष्काशन भएको धितोपत्र, धितोपत्र बजारमा सूचीकृत धितोपत्र, बैंक निक्षेप, मुद्रा बजार उपकरण, नेपाल सरकारले जारी गरेका वा नियन्त्रणमा रहेको कुनै संस्थाले जारी गरेको ऋणपत्र, ट्रेजरी विल तथा मुद्रा बजारका अन्य साधनहरुमा लगानी गर्ने योजना क्यापिटलको छ।

लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत यसअघि नै दुईवटा फण्ड सञ्चालन गरिरहेको लक्ष्मी क्यापिटलले दश वर्ष अवधिको तेस्रो फण्डको इकाई बिक्रीमा ल्याएको हो। हाल पाँच वर्षे अवधिको लक्ष्मी भ्यालु फण्ड १ र ७ वर्षे लक्ष्मी इक्वीटी फण्ड सञ्चालनमा छन्। लक्ष्मी भ्यालु फण्डको आकार ५० करोड छ भने इक्वीटी फण्ड १ अर्ब २५ करोड रहेको छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ साउन २०७७, सोमबार  १३ : ५३ बजे