सिद्धार्थ बैंकको ३ अर्बको ऋणपत्र आउने, अनुमति माग

0
Shares

सिद्धार्थ बैंक (SBL) ले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको छ। ऋणपत्र निष्काशनका लागि बैंकले नियामक निकाय धितोपत्र बोर्डसँग साउन १८ गते अनुमति माग गरेको हो।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरमा कूल ३० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । जसमध्ये १२ लाख कित्ता सर्वसाधारण र १८ लाख कित्ता बैंकले व्यक्तिगत तबरबाट बिक्री गर्नेछ।  धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्काशनको ४० प्रतिशत ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्छ ।

बैंकले जारी गर्ने ७ वर्ष अवधिको सिद्धार्थ बैंक डिबेन्चर २०८४’ ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ८.५० प्रतिशत ब्याजदर पाउनेछन्। नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि उक्त ऋणपत्र सर्वसाधारणमा बिक्रीमा आउनेछ। 

बैंकले ऋणपत्र निष्काशनको लागि एनएमबि क्यापिटललाई त्रितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक चयन गरेको छ ।

नेपाल राष्ट्र बैंकले सबै बैंकहरुलाई दीर्घकालीन स्रोत परिचालनका लागि चुक्ता पूँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरेपछि पछिल्लो समय सबै बैंकहरु ऋणपत्रबाट पूँजी जुटाइरहेका छन्।

सबैजसो बैंकहरुको ऋणपत्र बिक्रीमा आउन थालेपछि धितोपत्रको दोस्रो बजारमा पनि ऋणपत्रको कारोबार सहज हुन थालेको छ। यसअघि कहिलेकाँही मात्र कारोबार हुने ऋणपत्र आजभोली निरन्तरजस्तै कारोबार आउन थालेको छ।

बैंकले यस अघि पनि २ अर्ब ५० करोड बराबरको ऋणपत्र बिक्री गरेको थियो ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ साउन २०७७, सोमबार  १४ : ४६ बजे