बैंकिङ क्षेत्रमा कर्जाको माग आउन थाल्यो, ब्याजदर घटेपछि ११ अर्ब निक्षेप झिकियो

0
Shares

कोरोना भाइरसका कारण अस्तव्यस्त भएको अर्थतन्त्रमा पछिल्ला दिनहरुमा केही कर्जाको माग देखिन थालेको छ । लकडाउन खुलेसँगै आर्थिक गतिविधि बढ्न थालेपछि बैंकहरुमा कर्जाको माग आउन थालेको हो ।

उद्योग व्यवसाय ठप्प भएपछि आर्थिक गतिविधिको मुख्य  संयन्त्र उत्पादन, वितरण तथा मागको चक्र बिग्रिएको अवस्था छ । सञ्चालन गर्न चाहने उद्योग व्यवसायले पनि चालु पूँजी अभावको समस्या देखाइरहेको अवस्था छ ।

यो अवस्थामा नेपाल राष्ट्र बैंकले उद्योगधन्दा सञ्चालन तथा नयाँ उद्यम गर्नका लागि सहज कर्जाको व्यवस्था गरेको छ । बैंक वित्तीय संस्थावाट सहुलियतमा सहज कर्जा पाउने भएपछि पछिल्ला दिनहरुमा बैंक वित्तीय संस्थामा कर्जाको माग समेत देखिन थालेको छ ।

लकडाउनको अवधिमा आर्थिक कारोबार ठप्प सरह रह्यो । बैंकमा पैसा थुप्रियो । बैंकहरुले पनि लगानी गर्ने अवस्था नहुँदा २ अर्बसम्मको अधिक तरलता भएको अवस्था थियो । वित्तीय प्रणालीमा अहिले पनि करिब पौने दुई खर्बभन्दा धेरै अधिक तरलता रहेको छ ।

साउनको महिनाको पहिलो सातामा २५ अर्ब निक्षेप र ३६ अर्ब कर्जा घटेकोमा दोस्रो सातामा बैंकिङ प्रणालीमा २५ अर्ब रुपैयाँ निक्षेप थपिएको थियो । तर, तेस्रो सातामा भने ११ अर्ब निक्षेप झिकिदा ५ अर्ब रुपैयाँ कर्जा प्रबाह भएको छ । साउनको तेस्रो सातामा बैंकिङ क्षेत्रमा देखिएको कर्जा पछिल्लो ४ महिनाको उच्च हो।

बैंकहरुले निक्षेपको ब्यादर घटाएर स्प्रेड बढाएर गत आर्थिक वर्षमा नाफा बढाउने नीति अबलम्बन गरे । बैंकहरुले सोही अनुसार नियामकिय मापदण्ड भन्दा माथि रहेको स्प्रेडलाई घटाउनका लागि र कर्जाको माग बढाउन एकल अंकको ब्याजदर तय गरे । त्यसका लागि बैंकहरुले निक्षेपको ब्याज झनै न्यून गर्न थालेपछि निक्षेप विकास बैंक, फाइनान्स कम्पनी र सहकारीमा सिफ्ट हुन थालेको देखिन्छ । साउन महिनाको तेस्रो सातामा मात्र बैंकिङ प्रणालीवाट ११ अर्ब निक्षेप बाहिरीएको छ ।

साउन महिनाको तेस्रो सातासम्ममा बैंकहरुमा कुल ३४ खर्ब ७६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । सोही अवधिमा बैंकहरुले कुल २८ खर्ब ७१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।