स्टक डिलरले आफ्नो नेटवर्थको ६० प्रतिशतसम्म शेयर कारोबार गर्न सक्ने

0
Shares

स्टक डिलर कम्पनीले दैनिक रुपमा आफ्नो नेटवर्थको ६० प्रतिशतभन्दा धेरै रकमको शेयर किनबेच गर्न नपाउने भएका छन् । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले धितोपत्र व्यापारी कार्यविधि बनाई कारोबारको सीमा तोकेको हो ।

कार्यविधि अनुसार स्टक डिलरले प्रतिदिन आफ्नो नेटवर्थको ६० प्रतिशतभन्दा धेरैको शेयर कारोबार गर्न नपाउने भएका हुन् । धितोपत्र बजारमा नयाँ अभ्यास सुरु गर्न लागिएको स्टक डिलरको कार्यविधि आगामी भदौ १ गतेदेखि लागू हुने नेप्सेले जनाएको छ । 

कार्यविधि अनुसार धितोपत्र व्यापारीहरुको लागि कारोबार योग्य कम्पनीहरुको नामावली नेप्सेले सार्वजनिक गर्नेछ । नेप्सेले कम्पनी छनौट गर्दा विगत ३ वर्षदेखि नाफामा रहेको, लगानीकर्ताको संख्या १० हजार तथा चुक्तापूँजी २० करोडभन्दा धेरै भएको र नेप्सेमा कारोबार भएका कुल दिनमध्ये ८० प्रतिशत दिन कारोबार भएको हुनुपर्ने व्यवस्था गरेको छ ।  

स्टक डिलरले एक हजार कित्ताभन्दा कम शेयर खरीद बिक्री गर्न नपाउने

धितोपत्र ब्यापारीले सूचीकृत धितोपत्रको कारोबार गर्न गराउन नेप्सेमा कम्तीमा ५० लाख नगद वा बैंक ग्यारेन्टी राख्नुपर्ने व्यवस्था छ । धितोपत्र ब्यापारीले धरौटी राखेको रकमवाट २५ गुणासम्मको सीमाभित्र रही कारोबार गर्न पाउने व्यवस्था कार्यविधिले गरेको छ ।

कार्यविधि अनुसार धितोपत्र व्यापारीले शेयर खरीद बिक्री गर्दा एक पटकमा सूचीकृत कम्पनीको चुक्ता पूँजीका आधारमा ५० हजारदेखि एक हजार कित्ता शेयर किनबेच गर्न सक्नेछन । यसको अलवा धितोपत्र व्यापारीले अक्सन मार्केटमा समेत आवेदन दिन सक्नेछन । तर, यसरी आवेदन दिँदा धितोपत्र ब्यापारीका लागि स्विकृत प्राप्त कम्पनीको धितोपत्रको खरिदका लागि मात्र हुनुपर्नेछ । बिक्री नभएको हकप्रद शेयरको अक्सनमा आवेदन दिन भने पाउनेछ ।

तर, धितोपत्र ब्यापारीले बजारलाई असर गर्ने गरी सूचना प्रबाह गर्ने तथा कारोबार गर्ने धितोपत्रको कृत्रिम रुपमा मूल्य वृद्धि वा कमी गर्ने काम गर्न नपाउने कार्यविधिमा उल्लेख छ ।

स्टक डिलर कम्पनीले नेप्से तथा बोर्डको स्वीकृति वेगर कारोबार बन्द गर्न पाउदैन । त्यसैगरी नेप्सेलाई झुटा वा भ्रामक सूचना वा विवरण दिने, नेप्सेको स्वीकृति नलिई आफ्नो कारोबारको सार्वजनिक रुपमा विज्ञापन गर्ने, बजार सञ्चालनका लागि बाधा पुग्ने कार्य गर्न नपाउने व्यवस्था कार्यविधिमा छ ।

नेप्सेको प्रणालीभन्दा बाहिर गएर धितोपत्र बिक्री गर्ने तथा रोक्का धितोपत्रको कारोबार गर्न समेत धितोपत्र व्यापारीले पाउँदैनन् । झुठ्ठा कारोबार गर्ने तथा भित्रि सूचनामा आधारित रहेर कारोबार गर्न पनि बन्देज लगाईएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।