लगानी बोर्डका सीईओ भट्टलाई तत्काल काममा नलगाउन अदालतको आदेश

0
Shares

उच्च अदालत पाटनले लगानी बोर्डका नवनियुक्त प्रमुख कार्यकारी सुशील भट्टलाई तत्काल पदमा बहाल नगर्न र कामकाज गर्न नलगाउन सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलाशले सो आदेश दिएको हो। सुशील भट्टको नियुक्ति बिरुद्ध परेको रिटमा उच्च अदालत पाटनले मंगलबार सो आदेश गरेको हो।

भट्टको नियुक्ति कानुनसम्मत नभएको भन्दै मन्त्रिपरिषद्को निर्णय बदर गर्न माग गर्दै अधिवक्ता जयबहादुर भुजेलले आइतबार उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । उनले दायर गरेको रिटमा सो पदका लागि भट्टको योग्यता नपुगेको दाबी गर्दैै कार्यक्षमतामा प्रश्न उठाइएको छ।

उच्च अदालतमा साउन ३२ गते थप छलफलका लागि बोलाएकाले सीईओको हैसियतमा काम नगराउनु भनी अल्पकालिन अन्तरिम आदेश जारी गरिएको उच्च अदालतका प्रवक्ता शम्भु रेग्मीले जानकारी दिए ।

उच्च अदालत पाटनले यो मुद्दामा अदालतको सहयोगी (एमिकस क्यूरी)को रुपमा दुईजना वरिष्ठ अधिवक्ता वा अधिवक्तालाई उपस्थित गराउन भनी उच्च अदालत बार एसोसिएसन पाटनलाई पनि आदेश गरेको छ ।

उच्चको यो आदेशपछि अर्को सुनुवाई नभएसम्म भट्टले लगानी बोर्डमा सीईओ को हैसियतमा कुनै पनि काम गर्न पाउने छैनन्।। मन्त्रिपरिषदले साउन १९ गते भट्टलाई बोर्डको सीईओमा नियुक्त गरेको थियो।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।