चुलिँदो व्यापार घाटा

२७ मध्ये ११ नाकाबाट शून्य निर्यात, ९१ प्रतिशत आयात हुँदा निर्यात ९ प्रतिशतमात्रै


काठमाडौँ । चालु आर्थिक वर्षको ३ महिनामा देशभर सञ्चालनमा रहेका २७ वटा भन्सार नाकामध्ये ११ वटाबाट शून्य निर्यात भएको छ ।

यस अवधिमा १६ वटा भन्सारबाट निर्यात हुँदा ३ नाकाबाट नगन्य निर्यात भएको हो । असोज मसान्तसम्म १६ वटा भन्सार नाकाबाट ३८ अर्ब ३७ करोड ८७ लाख १७ हजार रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको छ ।

जबकि यही अवधिमा ३ खर्ब ९० अर्ब ७५ करोड २३ लाख २१ हजार रुपैयाँ बराबरको सामान आयात भएको छ । समग्र व्यापारको ९१ दशमलव ०६ प्रतिशत बराबरको आयात हुँदा ८ दशमलव ९४ प्रतिशत मात्रै निर्यात भएको छ ।

सो बराबरको मालवस्तु आयात हुँदा राज्यले १ खर्ब १२ अर्ब १२ करोड २३ लाख २८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

गत वर्षको सोही अवधिमा ४ खर्ब ७ अर्ब ७५ करोड ८९ लाख ७५ हजार रुपैयाँ बराबरको मालवस्तु आयात हुँदा ४० अर्ब ८७ करोड ४८ लाख ९१ हजार रुपैयाँको निर्यात भएको थियो ।

गत वर्ष आयात र निर्यातको अनुपात ९० दशमलव ८९ र ९ दशमलव ११ प्रतिशत थियो । गत वर्षको तुलनामा यस वर्षको ३ महिनाको अवधिमा व्यापार घाटा झन् बढेको भन्सार विभागको तथ्यांकले पुष्टि गर्छ ।

भन्सार विभागका अनुसार त्रिवेणी, पशुपतिनगर, टाँडी, भद्रपुर, महेशपुर, सती, राजविराज, चोभार, सुथौली, सुनसरी, जनकपुर र तातोपानी नाकाबाट शून्य निर्यात भएको हो ।

यस्तै, कञ्चनपुर, गौर र सिरहा नाकाबाट नगन्य निर्यात भएको छ । यी ३ वटा नाकाबाट २० लाख रुपैयाँभन्दा कम मूल्यको वस्तु निर्यात भएको छ ।

चालु आवको ३ महिनाको अवधिमा ४ वटा नाकाबाट सर्वाधिक निर्यात भएको छ । जसमध्ये सबैभन्दा धेरै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट निर्यात भएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कुल निर्यातको २५.८२ प्रतिशत अर्थात् ९ अर्ब ५७ करोड ६२ लाख रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको छ ।

यस्तै, सबैभन्दा बढी निर्यात हुने दोस्रो स्थानमा विराटनगर नाका छ । विराटनगरबाट कुल निर्यातको २१.२५ प्रतिशत अर्थात् ८ अर्ब १५ करोड ५९ लाख ४३ हजार रुपैयाँको बराबरको वस्तु निर्यात भएको छ ।

निर्यात धेरै हुने तेस्रो स्थानमा वीरगन्ज बन्दरगाह छ । यो नाकाबाट कुल निर्यातको १९.७४ प्रतिशत अर्थात् ७ अर्ब ५७ करोड ६२ लाख ९८ हजार रुपैयाँको वस्तु निर्यात भएको हो ।

यस्तै, मेची भन्सार नाका चौथो स्थानमा छ । यो नाकाबाट कुल निर्यातको १५.८६ प्रतिशत अर्थात् ६ अर्ब ८ करोड ९० लाख १३ हजार बराबरको मालवस्तु निर्यात भएको छ ।

यस्तै, भैरहवा नाकाबाट ३ अर्ब ८ करोड ९० लाख १३ हजारको वस्तु निर्यात भएको छ भने वीरगन्ज सुख्खा बन्दरगाहबाट १ अर्ब २५ करोड ९९ लाख ५८ हजार बराबरको वस्तु निर्यात भएको छ ।

यस्तै, कृष्णनगर नाकाबाट ५५ करोड ९५ लाख रुपैयाँ बराबरको निर्यात हुँदा नेपालगन्ज नाकाबाट ५३ करोड ९८ लाख, सर्लाही नाकाबाट ४४ करोड ७० लाख, रसुवागढी नाकाबाट ३९ करोड ३३ लाख, कैलाली २६ करोड ३९ लाख, जलेश्वर नाकाबाट ७ करोड ३६ लाख, पशुपतिनगर नाकाबाट २ करोड ३३ लाख रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको छ ।

कुल निर्यातमा उच्च निर्यात गर्ने ४ वटा नाकाको हिस्सा ८२.६७ प्रतिशत छ । ती नाकाबाट मात्रै ३१ अर्ब ७२ करोड ६६ लाख रुपैयाँको मालवस्तु निर्यात भएको छ ।

वीरगन्ज नाकाबाट सबैभन्दा धेरै आयात

चालु आर्थिक वर्षको असोज मसान्तसम्म विभिन्न देशबाट नेपाल आयात हुने मालवस्तु सबैभन्दा धेरै आयात वीरगन्ज नाकाबाट भएको छ । कुल आयातको ३२.७३ प्रतिशत हिस्सा अर्थात् १ खर्ब २७ अर्ब ८१ करोड ३६ लाख ६९ हजार रुपैयाँ बराबरको मालवस्तु वीरगन्ज नाकाबाट नेपाल भित्रिएको छ ।

धेरै आयात हुने नाकाको दोस्रो स्थानमा भैरहवा नाका छ । भैरहवा नाकाबाट कुल आयातको १६.२५ प्रतिशत अर्थात् ६३ अर्ब ५० करोड ६५ लाख रुपैयाँको वस्तु आयात भएको हो ।

यस्तै, वीरगन्ज सुख्खा बन्दरगाहबाट ५५ अर्ब ४४ करोड ८९ लाख बराबरको वस्तु आयात भएको छ भने विराटनगर नाकाबाट ४१ अर्ब ९१ करोड ३० लाख बराबरको वस्तु नेपालले आयात गरेको छ ।

यस्तै, पछिल्लो ३ महिनामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ३० अर्ब ६२ करोड रुपैयाँ बराबरको सामान आयात भएको छ ।

यी ५ वटा नाकाबाट कुल आयातको ८१.७४ प्रतिशत वस्तु आयात भएको हो । यस्तै, रसुवा नाकाबाट १६ अर्ब ७१ करोड ७ लाख, नेपालगन्ज नाकाबाट १५ अर्ब ९३ करोड ६६ लाख, तातोपानी नाकाबाट १२ अर्ब ३५ करोड ४२ लाख, मेची नाकाबाट १० अर्ब ५५ करोड २५ लाख रुपैयाँको मालवस्तु आयात भएको छ ।

साथै कैलाली नाकाबाट ५ अर्ब ११ करोड ४२ लाख, कृष्णनगर नाकाबाट ४ अर्ब ३३ करोड २९ लाख, जलेश्वर नाकाबाट २ अर्ब ९३ करोड ३८ लाख रुपैयाँ बराबरको सामान नेपाल भित्रिएको छ ।

१ अर्ब रुपैयाँभन्दा कमको वस्तु आयात हुने नाकाअन्तर्गत सुथौली, सर्लाही, कञ्चनपुर, जनकपुर, सुनसरी, चोभार, गौर, भद्रपुर, सती, सिरहा, महेशपुर, राजविराज, टाँडी, पशुपतिनगर र त्रिवेणी नाका पर्छन् ।

कुल सञ्चालनमा आएका २७ वटा नाकामध्ये सबैभन्दा धेरै मालवस्तु वीरगन्ज नाकाबाट आयात भएको छ भने सबैभन्दा थोरै त्रिवेणी नाकाबाट भएको छ ।

प्रकाशित मिति: ११ कात्तिक २०८१, आइतबार  ११ : ५९ बजे