आईपीओ आउँदै गरेको रिलायन्स लाइफको यस्तो छ तीन वर्षको प्रगति

0
Shares

बीमा समिति बाट पछिल्लो समय इजाजतप्राप्त १० नयाँ जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा पहिला प्राथमिक शेयर जारी गर्न लागेको रिलायन्स लाइफ इन्स्योरेन्सले भदौ ४ गतेदेखि सर्वसाधारणमा १०० अंकित दरका ६३ लाख कित्ता शेयरको प्रारम्भिक निष्काशन गर्दैछ ।

सार्वजनिक निष्काशन गरिने शेयर मध्ये ५ प्रतिशत (३ लाख १५ हजार कित्ता शेयर) कम्पनीमा कार्यरत कर्मचारीको लागि र अर्को ५ प्रतिशत (३ लाख १५ हजार कित्ता) सामुहिक लगानी कोषको लागि शेयर र बाँकी ५६ लाख ७० हजार कित्ता शेयरका लागि सर्वसाधारणले धितोपत्र बोर्डबाट अनुमति पाएका सि आश्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय र मेरो शेयर मार्फत भदौ ८ गतेसम्म आवेदन गर्न सकिन्छ।

हरेक कम्पनीको शेयरमा लगानी गर्नुपूर्व कम्पनीको बारेमा जान्नु आवश्यक हुन्छ। हेरौं कस्तो कम्पनी हो त रिलायन्स लाइफ इन्स्योरेन्स:

आक्रमक होइन क्रमबद्ध प्रगति

आफुहरु क्रमबद्ध प्रगतिमा विश्साव गर्ने बताउने रिलायन्स लाइफले त्यसको उदाहरण कम्पनीले हासिल गरेको प्रगति, प्रथम बीमाशुल्क संकलन, र खुद नाफामा हासिल गर्दै आएको क्रमबद्ध विकास नै हो।

कम्पनीले बजारको माग अनुरुप नयाँ तथा उत्कृष्ट बीमा योजनाहरु प्रतिस्पर्धात्मक बीमा शुल्कमा ल्याई आफ्नो सेवाको गुणस्तरलाई उच्च राखी कार्य गरिरहेको छ । साथै डिजिटाइजेशन लाई समेत आत्मसाथ गर्दै आफ्नो सेवाको गुणस्तर थप वृद्धि गर्न लागि परेको छ ।

प्रिमियम संकलन

कम्पनीले पहिलो आर्थिक वर्ष २०७४/७५ को ८ महिनामा ८ करोड ५५ लाख प्रिमियम संकलन गरेकोमा दोस्रो आव ७४ करोड २४ लाख र २०७६/७७ मा आइपुग्दा १४१ करोड ३३ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ।

यसैगरि कम्पनीको बीमाकोष पहिलो वर्ष ४ करोड ३८ लाख रहेकोमा दोस्रो वर्षमा ४१ करोड ७० लाख र तेस्रो वर्षमा बीमाकोषको आकार ११४ करोड ७५ लाख पुगेको छ।

आव २०७५/७६ मा रिलायन्स लाइफको बीमा प्रिमियम संकलन कूल जीबन बीमा कम्पनी प्रिमियम संकलन (७७ अर्ब) को मध्ये ०.९६ हिस्सा रहेकोमा आव २०७६/७७ मा आइपुग्दा (९४.४० अर्ब) अर्थात १.४९ प्रतिशत हिस्सा ओगट्न सफल भएको छ।

समग्र जीबन बीमा कम्पनीको ग्रोथ २२.५९ प्रतिशत रहेकोमा रिलायन्सको प्रगति ९०.३६ प्रतिशतको वृद्धि भएको छ।

खुद नाफा

खुद नाफाका आधारमा हेर्दा पहिलो आर्थिक वर्षमा सीमित लागत, शाखा संरचना र सञ्चालनका कारण र सञ्चालन क्षमता, लागत नबढेका कारण नाफा ८.९२ करोड रहेकोमा दोस्रो वर्षदेखि शाखा विस्तार र अन्य खर्चहरु बढ्दा २.२६ करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षमा ४.१३ करोड खुद नाफा गरेको छ। यो बीमाकिंय मूल्याङ्कन अघिको नाफा हो।

जीवन बीमा कम्पनीहरुको हकमा नाफाको निर्धारण लेखा परिक्षणको क्रममा हुने बीमाङ्कीय मूल्याङ्कनको क्रममा हुने गर्दछ। बीमांकीय मूल्याङकनपछि मात्र वास्तविक खुद नाफा निर्धारण हुनेछ । बीमाङ्कीय मूल्याङ्कनको क्रममा कम जोखिम देखिए नाफा बढ्नेछ भने बढी जोखिम देखिए नाफा अझै घट्न सक्ने हुन्छ

प्रथम बीमाशुल्क

सुरुवाती वर्षको ८ महिनामा ८.५५ करोड प्रथम बीमाशुल्क संकलन गरेको कम्पनीले दोस्रो वर्षमा ६९.४० र तेस्रो आव २०७६/७७ मा आइपुग्दा ९४.८४ करोड संकलन गरेको छ। शाखाको रुपमा हेर्दा पहिलो वर्ष १६ शाखाबाट सेवा दिएको कम्पनीले दोस्रो वर्षमा ८८ र तेस्रो वर्षमा १०० शाखा पुगेको छ।

रिलायन्स लाइफ कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत अर्थात् ६३ करोड रुपैयाँ बराबरको शेयर सार्वजनिक निष्काशन गरे पश्चात् कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड कायम हुनेछ। सो शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल छ।

सञ्चित नाफा

कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ मा १३ करोड ४० लाख ९९ हजार रुपैयाँ सञ्चित नाफा आर्जन गरेको छ। आगामी तीन वर्षमा क्रमश: २५ करोड ७० लाख ८ हजार, ४३ करोड ११ लाख ५९ हजार र ७१ करोड ७५ लाख ७ हजार रुपैयाँ सञ्चित नाफा कमाउने प्रक्षेपण गरेको छ।

कम्पनीले गत आव २०७६/७७ मा वार्षिक प्रतिशेयर आम्दानी २.८१ रुपैयाँ कायम गरेको छ। यी वर्षहरुमा वार्षिक प्रतिशेयर आम्दानी क्रमश ५.१५ रुपैयाँ, ९.१५ रुपैयाँ, र १५.०३ रुपैयाँ कायम गर्ने अनुमान छ।

कम्पनीको गत आवमा प्रतिशेयर नेटवर्थ ११०.४५ रुपैयाँ छ। आगमी तीन वर्षमा क्रमश: पहिलो वर्ष ११४ रुपैयाँ, दोस्रो वर्ष १२३.३५ रुपैयाँ र अन्तिम वर्षमा १३८.७० रुपैयाँ कायम गरेको छ।

कम्पनीको अधिकृत पूँजी ३ अर्ब, जारी पूँजी २ अर्ब १० करोड र चुक्ता पूँजी १ अर्ब ४७ करोड रुपैयाँ रहेको छ।

संस्थागत लगानीकर्ता, व्यवस्थापन र सञ्चालक

सिद्धार्थ बैँक लगायत नेपालका प्रतिष्ठित घरानाहरुद्वारा प्रवद्र्धित रिलायन्सले २०७४ मंसिर ०१ गतेदेखि विधिवत् रुपमा जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको छ।

कम्पनीमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रुपमा प्रविण रमण पराजुली छन् । उनीसँग बैंक तथा वित्तीय संस्थाहरुमा १८ वर्षभन्दा धेरै काम गरेको अनुभव छ। उनले  नबिल इन्भेष्ट एण्ड बैंकिङ्गमा सीईओको रुपमा काम गरेका छन्।

यस्तै बैंकिङ्ग र इन्स्योरेन्स क्षेत्रमा १५ वर्ष विताएका निराजन कँडेल डेपुटी सीईओ तथा एक दशकभन्दा धेरै काम गरेका सन्दिप सिंह जनशक्ति व्यवस्थापन प्रमुख र ज्ञानबहादुर रायमाझी प्रमुख सञ्चालन अधिकृतको रुपमा कार्यरत रहेका छन्।

यस्तै कम्पनीमा ताराचन्द केडिया अध्यक्ष, जगदीश कुमार अग्रवाल, भरत कुमार तोदी, अमित कुमार वेगानी, र सुन्दर प्रसाद कंडेल सञ्चालक रहेका छन्। संस्थामा सिदार्थ बैंकको १८ प्रतिशत शेयर लगानी छ भने अग्नि होल्डिङ्ग, सबिता केडिया, मनोज कुमार केडिया, मनोज कुमार केडिया, पवन कुमार अग्रवाल, देवराज राजभण्डारी, भरत कुमार तोदी, नरेन्द्र कुमार अग्रवालको २ प्रतिशत धेरै लगानी रहेको छ।

कम्पनीको हाल १०० वटा शाखा÷उपशाखा कार्यालयहरु मार्फत आफ्नो सेवा प्रदान गर्दै आएको छ । संस्थामा ११३ व्यक्तिगत तथा संगठित संस्थाको लगानी छ।

आईपीओबाट प्राप्त हुने पूँजी लगानी बीम ऐन २०४९ बीमा कम्पनीको प्रबन्धपत्र तथा नियमावली, र अन्य प्रचलित कानून बमोजिम बीमा कम्पनीम व्यवसायिक प्रयोजनमा उपयोग गरिनेछ। यस्तै नियमित आर्थिक कारोबार विस्तार वृद्धि गर्न उपयोग गरिने उल्लेख छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।