गण्डकी मिसाउँदा पनि मेगाको देखिएन प्रगति, जोखिम व्यवस्था १०८% ले बढ्यो

0
Shares

गत आर्थिक वर्ष २०७६/७७ जोखिम ब्यवस्थाका लागि उच्च रकम छुट्याउनु पर्दा मेगा बैंकको खुद नाफा घटेको छ । गत आवमा ८८ करोड ८५ लाख रुपैयाँ जोखिम व्यवस्थावापत छुट्याएको बैंकले खुद नाफा एक अर्ब ५२ करोड रुपैयाँ गरेको हो ।

बैंकले गत आर्थिक वर्षमा गरेको जोखिम व्यवस्था बापतको रकम अघिल्लो आर्थिक वर्षको तुलनामा १०८ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षमा बैंकले जोखिम व्यवस्था बापत ४२ करोड ६६ लाख रुपैयाँ छुट्याएको थियो । 

चालु आवमा बैंकको खुद नाफा करिब ९ करोड रुपैयाँले घटेको छ । गत आर्थिक वर्षमा गण्डकी विकास बैंकलाइ खरीद गरेर संयुक्त कारोबार सुरु गरेको बैंकले अघिल्लो आर्थिक वर्षमा एक अर्ब ६२ करोड ९६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत आवमा बैंकको वितरण योग्य नाफा एक अर्ब ११ करोड ५९ लाख रुपैयाँ रहेको छ ।

गण्डकी विकास बैंकलाई खरीद गरेपछि पनि बैंकको नाफामा खासै सुधार आउन सकेन । अघिल्लो आर्थिक वर्षमा नै एक अर्ब ६२ करोड नाफा गरेको बैकले गत आर्थिक वर्ष राष्ट्रियस्तर विकास बैंकलाइ खरिद गरेर कार्यक्षेत्र विस्तार गरेको अवस्थामा समेत नाफा घटेको हो ।

गत आर्थिक वर्षको चौथो त्रैमासमा कोरोना भाइरसको कारण बैंकहरुले पैसा निक्षेप लिने र भुक्तानी दिने मात्र कम गरे । त्यसका साथै अर्थतन्त्रमा पर्न सक्ने जोखिमलाई न्यूनीकरणका लागि उद्योग व्यवसायलाई कजाृको ब्याजमा छुट दिने तथा समयअवधि थप गर्ने नीतिगत व्यवस्थाले पनि बैंकको नाफा प्रभावित भएको हो।

बैंकले गत आवमा ४ अर्ब १७ करोड खुद ब्याज आम्दानी गरेको छ । यो ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ३७ करोड रुपैयाँले धेरै हो । बैंकले अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ७९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत आवमा बैंकको खुद फि तथा कमिसन आम्दानी भने करिब एक करोड रुपैयाँले घटेको छ । यो अवधिमा बैंकको खर्च भने सामान्य वृद्धि भएको छ ।

हाल चुक्ता पूँजी १३ अर्ब १३ करोड रुपैयाँ रहेको बैंकको सञ्चित कोषमा ३ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षसम्ममा १ खर्ब २७ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले एक खर्ब १० अर्ब ६० करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ ।

बैंकको प्रतिशेयर आम्दानी १४.५२ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १३३.९९ रुपैयाँ र मूल्य आम्दानी अनुपात १४.३२ गुणा छ । बैंकको खराब कर्जा अनुपात भने १.२० प्रतिशत रहेको छ । गत आवमा बैंकको कष्ट अफ फण्ड ६.९३ प्रतिशत, आधार दर ८.३२ प्रतिशत र स्प्रेड दर ४.३९ प्रतिशत रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।