काठमाडौँ । नेपालको पहिलो हायात सेन्ट्रिक ब्राण्डको होटल सञ्चालक सिटी होटल लिमिटेड चालु आर्थिक वर्षको सुरूबाटै वित्तीय अवस्था सुधारतर्फ अग्रसर देखिएको छ । आम्दानी वृद्धि, सञ्चालन नाफामा सुधार र वित्तीय दायित्व घटाउने दिशामा देखिएको प्रगतिले होटलको समग्र वित्तीय अवस्थामा उल्लेख्य सुधार भएको हो ।
शुक्रबार सार्वजनिक आर्थिक वर्ष २०८३र०८४ को पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले गत वर्षको सोही अवधिको तुलनामा खुद नोक्सानी २८ प्रतिशतले घटाएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको खुद नोक्सानी ४ करोड ३ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो नोक्सानी ५ करोड ५७ लाख रुपैयाँ थियो । यसअनुसार कम्पनीले एक वर्षको अवधिमा नोक्सानी १ करोड ५४ लाख रुपैयाँ अर्थात् करिब २८ प्रतिशतले घटाएको हो ।
समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १२ करोड ९७ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा कम्पनीको कुल आम्दानी ११ करोड ५५ लाख रुपैयाँ थियो । यसअनुसार कुल आम्दानीमा करिब ४।७ प्रतिशत वृद्धि भएको छ ।
होटलको सञ्चालन कार्यक्षमतामा समेत सुधार देखिएको छ । गत वर्षको पहिलो त्रैमासिकमा २ करोड ४३ लाख रुपैयाँ रहेको सञ्चालन नाफा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ३ करोड ७२ लाख रुपैयाँ पुगेको छ । यसमा करिब ५३ प्रतिशतको वृद्धि भएको छ।
वित्तीय दायित्व व्यवस्थापनमा पनि कम्पनीले प्रगति गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा ३ अर्ब २० करोड रुपैयाँ रहेको दीर्घकालीन कर्जा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा घटेर २ अर्ब ४८ करोड रुपैयाँमा झरेको छ । त्यस्तै, अल्पकालीन कर्जा पनि १४ करोड १७ लाख रुपैयाँबाट घटेर ३ करोड ५७ लाख रुपैयाँमा सीमित भएको छ ।
नेपालको पहिलो हायात सेन्ट्रिक ब्राण्डको होटलका रूपमा सञ्चालनमा रहेको सिटी होटलले सेवा सुविधाको गुणस्तर अभिवृद्धि र बजार विस्तारलाई प्राथमिकता दिँदै आएको छ ।
आर्थिक वर्षको सुरुवातदेखि नै आएको बाढी तथा प्रतिकूल मौसमका कारण काठमाडौंको समग्र होटल व्यवसाय प्रभावित भएको थियो । धार्मिक तथा तीर्थयात्रामा आधारित पर्यटनमा तुलनात्मक रूपमा बढी निर्भर रहेको होटलले समेत त्यसको प्रभाव व्यहोर्नुपरेको थियो । कम्पनीले यस्तो चुनौतीका बाबजुद स्थानीय बजारमा पहुँच विस्तार, ट्राभल एक्स्पो, वर्कसप तथा ग्लोबल टुरिस्ट इभेन्टमा सहभागिता, विभिन्न दूतावास तथा सरोकारवालासँग दीर्घकालीन व्यावसायिक सम्बन्ध विकासमार्फत पर्यटक आकर्षित गर्ने रणनीति अघि सारेको जनाएको छ ।






