नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुलीको बक्यौता महसुल तिर्न उद्योगीलाई १५ दिनको समय दिइएको बताएका छन् । उनले आज पत्रकार सम्मेलन गर्दै १५ दिन भन्दा धेरै दिन लाइन जोड्न नसकिने बताएका छन् ।
‘सरकारले १५ दिन भित्र बक्यौताको महशुल बुझाउन समय दिन भनेको छ । त्यो समय दिन्छौं, त्यसपछि लाइन काट्ने र जोड्ने काम गर्दैनौं’ उनले भने ।
उनले यो समस्या अब सदाका लागि अन्त्य हुनुपर्ने बताए । प्राधिकरण सरकार र नियामक निकायको निर्णय र निर्देशन मान्ने भएकाले अहिले उद्योगहरूमा बिजुली जोड्न थालिएको उनको भनाइ छ ।
उद्योगहरूले बक्यौता तिर्नेतिर भन्दा पनि झन् विवादित बनाउने र राजनीतिकरण गर्ने काम गरिरहेको घिसिङको जिकिर छ ।
‘लाइन काट्नुभन्दा अगाडि उत्पादित वस्तु बिक्री नभएसम्म उद्योगी लाइन जोड्न नआउने र सामान बिक्री भएपछि बेरोजगार बढ्यो, अर्थतन्त्र तहसनहस भयो भन्दै ब्ल्याकमेल गर्नुहुन्छ । सरकारलाई केही न केही निर्णय गर्न बाध्य पार्नुहुन्छ ‘, घिसिङले भने ।
यसअघि प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिरेको उद्योगको बिजुली काटेको थियो । आइतबारको मन्त्रिपरिषद् बैठकले २४ घण्टाभित्र बिजुली जोड्ने र १५ दिनभित्र टीओडी मिटरको आधारमा बक्यौता महसुल उठाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया