काठमाडौँ । काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसम) का आठ जना विद्यार्थी आठदिनकाे अध्ययन भ्रमण सकेर चीनबाट फर्किएका छन्। उनीहरू अन्तर्राष्ट्रिय व्यापार, प्रविधि, ग्रामीण आर्थिक विकास, दिगो विकास तथा नेपाल–चीन सहकार्यका विभिन्न पक्षबारे प्रत्यक्ष अनुभव हासिल गरेका फर्किएका हुन् ।
प्राध्यापक रामनारायण श्रेष्ठको नेतृत्वमा विद्यार्थीहरू चीनको हाङझाउमा आयोजित ‘क्रस हिमालयन डाइलग’ कार्यक्रममा सहभागी भएका थिए। कार्यक्रममा विश्व शासन, बहुपक्षीय सहकार्य, अन्तर्राष्ट्रिय सम्बन्ध, प्रविधि र नेपाल–चीन सम्बन्धका विषयमा छलफल भएको थियो।
अध्ययन भ्रमणका क्रममा विद्यार्थीहरूले चीनको व्यापार, प्रविधि, ग्रामीण विकास, पर्यटन र सांस्कृतिक सम्पदाबारे प्रत्यक्ष रूपमा बुझ्ने अवसर पाएका थिए।

भ्रमणको महत्वपूर्ण पक्ष यिवु अन्तर्राष्ट्रिय व्यापार सहरको अवलोकन थियो। यिवु चीनको ठूलो अन्तर्राष्ट्रिय थोक व्यापार केन्द्रका रूपमा परिचित छ। त्यहाँ विद्यार्थीहरूले विभिन्न देशमा हुने वस्तु निर्यात, आपूर्ति प्रणाली र बजार सञ्जालबारे जानकारी लिएका थिए।
विद्यार्थीहरूले व्यापारमा डिजिटल प्रविधि र कृत्रिम बौद्धिकताको प्रयोगबारे पनि बुझ्ने अवसर पाएकाे बताएका छन्। स्थानीय बजारलाई विश्व बजारसँग जोड्न प्रविधि, सञ्चार र आपूर्ति प्रणालीको भूमिका महत्वपूर्ण रहेको कुरा याे कार्यक्रमले सिकाएकाे छ।

भ्रमणका क्रममा विद्यार्थीहरू आनजीस्थित युछुन गाउँ पनि पुगेका थिए। कुनै समय ढुंगा उत्खननमा निर्भर रहेको यो गाउँले पछिल्लो समय वातावरण संरक्षण र ग्रामीण पर्यटनलाई प्राथमिकता दिएको छ।
युछुन गाउँको अनुभवले प्राकृतिक स्रोतको संरक्षणसँगै स्थानीय अर्थतन्त्रलाई अघि बढाउन सकिने उदाहरण देखाएको प्राध्यापक श्रेष्ठले बताए। स्थानीय स्रोत र सम्भावनालाई पर्यटन तथा अन्य आर्थिक गतिविधिसँग जोड्न सकिने कुरा विद्यार्थीहरूले त्यहाँबाट सिकेकाे बताएका छन्।
अध्ययन कार्यक्रममा प्रविधि र अन्तर्राष्ट्रिय व्यापारबीचको सम्बन्धबारे पनि छलफल भएको समेत उनीहरूकाे भनाइ छ। कृत्रिम बौद्धिकता र डिजिटल प्रविधिले व्यापार, सञ्चार र अन्तर्राष्ट्रिय सम्बन्धमा नयाँ सम्भावना सिर्जना गरिरहेको विषयमा विद्यार्थीहरूले जानकारी पाएका थिए। विद्यार्थीहरूले चचियाङ अमूर्त सांस्कृतिक सम्पदा संग्रहालयको पनि भ्रमण गरेका थिए। त्यहाँ सांस्कृतिक सम्पदाको संरक्षण, नयाँ पुस्ताको सहभागिता र प्रविधिको प्रयोगबारे जानकारी लिइएको थियो।

त्यस्तै, हाङझाउको पश्चिम तालको भ्रमणबाट प्राकृतिक सम्पदा, पर्यटन र सहरी विकासबीचको सम्बन्ध बुझ्ने अवसर विद्यार्थीहरूले पाए।
अध्ययन भ्रमणले काठमाडौँ विश्वविद्यालय र चचियाङ अन्तर्राष्ट्रिय अध्ययन विश्वविद्यालयबीच थप सहकार्यको सम्भावना पनि देखाएको छ। विद्यार्थी आदानप्रदान, संयुक्त अनुसन्धान, उद्यमशीलता, विद्यार्थी प्रतियोगिता र सांस्कृतिक कार्यक्रममार्फत सहकार्य विस्तार गर्न सकिने सम्भावना रहेको प्राध्यापक श्रेष्ठले बताए।
कार्यक्रमका क्रममा विद्यार्थीहरूले चिनियाँ प्राध्यापक, विद्यार्थी तथा सहजकर्तासँग अन्तरक्रिया गरेका थिए। औपचारिक कार्यक्रमसँगै साझा भोजन, विश्वविद्यालय भ्रमण र अनौपचारिक संवादले दुई देशका विद्यार्थीबीच सम्बन्ध विस्तार गर्न सहयोग गरेको थियो।

प्राध्यापक श्रेष्ठका अनुसार भ्रमण विद्यार्थीका लागि चीनको आर्थिक र व्यावसायिक वातावरणलाई प्रत्यक्ष रूपमा बुझ्ने अवसर बनेको थियो। कक्षाकोठामा पढेका विषयलाई वास्तविक बजार, ग्रामीण अर्थतन्त्र र प्रविधिको प्रयोगसँग जोडेर बुझ्न भ्रमण उपयोगी भएको उनले बताए।
चीन भ्रमणमा विशालकुमार साह, आदित्य बाँस्कोटा, सिद्धुब शर्मा बिडारी, कृतिका पाण्डे, आयुष्का बोगटी, सिल्भिया श्रेष्ठ, तेजेन्द्र सिंह र कृति राई सहभागी थिए। उनीहरूसँग प्राध्यापक रामनारायण श्रेष्ठ सहभागी थिए।

प्रतिनिधिमण्डलले चचियाङ अन्तर्राष्ट्रिय अध्ययन विश्वविद्यालयका नेतृत्व, प्राध्यापक, संयोजक, सहजकर्ता, शिक्षण सहायक तथा विद्यार्थीलाई कार्यक्रमका क्रममा प्राप्त सहयोग र आतिथ्यका लागि धन्यवाद दिएको छ।

आठदिने भ्रमणले कुसमका विद्यार्थीलाई चीनको अन्तर्राष्ट्रिय व्यापारदेखि ग्रामीण आर्थिक विकाससम्मका विषय प्रत्यक्ष रूपमा बुझ्ने अवसर दिएको छ। भ्रमणबाट प्राप्त अनुभवले व्यवस्थापनको पढाइलाई कक्षाकोठाबाहिरको व्यवहारिक ज्ञानसँग जोड्न सहयोग गरेको सहभागीहरूको भनाइ छ।







