स्टक ब्रोकर र धितोपत्र ब्रोकर एशोसिएसनबीच मर्जर सम्झौता, यस्तो छ चार बुँदे सहमती


धितोपत्र दलाल व्यवसायी (ब्रोकर) का दुई वटा संठगन एक आपसमा मर्ज हुने भएका छन् । बुधबार एक कार्यक्रमबीच स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल र धितोपत्र ब्रोकर्स एसोसिएसन अफ नेपालले मर्जरमा जाने ४ बुँदे सहमती गरेका हुन् । मर्जर पश्चात नयाँ संगठनको नाम स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल राखिने भएको छ ।

सम्झौता पत्रमा स्टक ब्रोकर एसोसिएसन अफ नेपालका तर्फबाट अध्यक्ष धर्मराज सापकोटा र धितोपत्र ब्रोकर्स एसोसिएसन अफ नेपालका तर्फबाट अध्यक्ष सागर ढकालले हस्ताक्षर गरेका छन् ।

मर्जरमा स्टक ब्रोकर्स एसोसिएसनका तर्फबाट मर्जर समितिका संयोजक पूर्वअध्यक्ष सन्तोषराज मैनाली रहेका छन् भने सदस्यहरुमा मदन पौडेल र सुयोग अधिकारी छन् भने धितोपत्र ब्रोकर्स एसोसिएसनका तर्फबाट मर्जर समितिका संयोजक महासचिव कृष्ण गिरी तथा सदस्यहरु सुमन कुमार मल्ल र सन्दिप विक्रम राणा रहेका छन् ।

यस्तो छ ४ बुँदे सम्झौता

सम्झौताअनुसार ३१ वर्षको लामो ईतिहास बोकेको स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाललाई सम्पूर्ण धितोपत्र व्यवसायी धितोपत्र दलाल तथा धितोपत्र व्यापारीहरुको साझा व्यावसायिक संघको रुपमा निरन्तरता दिइने छ।

दोस्रो पक्षको रुपमा रहेको धितोपत्र ब्रोकर्स एसोसिएसन नेपालमा सदस्य रहेका सबै धितोपत्र दलाल व्यवसायीहरूलाई स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले एकमुष्ट रुपमा सदस्यता प्रदान गर्ने उल्लेख छ।

धितोपत्र ब्रोकर्स एसोसिएसन नेपाललाई संस्थागत सामाजिक उत्तरदायित्व र लगानीकर्ता शिक्षा तथा सचेतनाअन्तर्गतका कार्यक्रम सञ्चालन गर्ने अंगको रुपमा अगाडि बढाइने पनि सम्झौतामा उल्लेख छ।

दुबै एसोसिएसनमा हाल सदस्य नभएका धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) हरुलाई स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको सदस्यता लिन आह्वान तथा सहजीकरण गरिने सम्झौतामा भनिएको छ।

प्रकाशित मिति: २९ कात्तिक २०८१, बिहीबार  ०७ : १७ बजे