धितोपत्र बोर्ड अध्यक्षको टुङ्गो लागेदेखि नेप्सेमा लगातार सुधार, सात कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट


नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ आउने पक्का भएदेखि बढ्न थालेको सेयर बजार सूचक निरन्तर बढेको छ । यो साताको सोमबार देखि बढ्न थालेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक मङ्गलवार तथा बुधवार पनि बढेको हो ।

नेप्से परिसूचक यो साताको सोमबार १५.८३, मङ्गलवार ३३.४१ र बुधवार ३९.७० अङ्कले बढेको छ । नेप्से सूचक सँगै कारोबार रकममा पनि क्रमिक सुधार आएको छ । बुधवार सम्म आइपुग्दा नेप्सेको कारोबार रकम ९ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।

बुधवार धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले पदभार ग्रहण गरेका छन् । अध्यक्ष पदभार ग्रहण गरेसँगै धितोपत्र बोर्डमा रोकिएका हकप्रद र साधारण सेयरको स्वीकृतिको प्रक्रिया पनि अघि बढेको छ । धितोपत्रको प्राथमिक बजार चलायमान भए दोस्रो बजारले पनि गति लिने भएकाले पनि सेयर लगानीकर्ता बोर्ड अध्यक्ष आएसँगै सकारात्मक भएका हुन ।

बुधवार नेप्से परिसूचक ३९.७० अङ्कले बढेर २७५६.३६ अङ्कमा बन्द भएको छ । साथै नेप्सेमा ३ सय १६ कम्पनीको एक करोड ७१ लाख ४३ हजार पाँच सय ८४ कित्ता सेयर ८९ हजार पटक खरिद बिक्री हुँदा ९ अर्ब ३१ करोड २९ लाख ३४ हजार आठ सय ४० रुपैयाँ बराबरका कारोबार भएको छ । बुधवार कारोबारमा आएका सात कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो कारोबार रकम मङ्गलवारको तुलनामा धेरै हो । मङ्गलवार नेप्सेमा ७ अर्ब ३१ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो ।

विशाल बजार कम्पनी, कर्णाली बिकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक,सर्पोट माइक्रोफाइनान्स, सप्तकोसी डेभलपमेन्ट बैंक र मानुशी लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ । त्यसै गरी बुधवार कारोबार भएका २०० सय कम्पनीको सेयर मूल्य बढेको छ भने ३८ कम्पनीको घटेको नेप्सेले जनाएको छ ।

वित्त समूहको उपसूचक ०.४७ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी व्यापार समूह ९.२७ र विकास बैंक समूह ३.१८ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति: १२ मंसिर २०८१, बुधबार  १६ : १९ बजे