मौद्रिक नीतिमा कुनै परिवर्तन नहुदाँ सेयर बजार  घट्ने क्रम जारी, कारोबार रकममा सुधार


नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो साता कारोबारको पहिलो दिन आइतबार घटेको छ । गत साता नेप्सेमा कारोबार भएको अन्तिम दिन विहीबारअंकले घटेको नेप्से परिसूचक आइतबार ९.९९ अङ्कले घटेको हो । 

सेयर लगानीकर्ताले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा अनुसार धितोपत्र बजार घट्ने वा बढ्ने निर्धारण हुने विश्लेषण गरेका थिए । तर, राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षमा कुनै पनि परिवर्तन गरेन । त्यसले गर्दा पनि सेयर लगानीकर्ताको मनोबल केही कमजोर बनाएका हुन सक्ने अनुमान छ । केन्द्रीय बैंकले अर्थतन्त्र सुधारको गतिमा भएको हुनाले हालको नीतिगत व्यवस्थालाई परिवर्तन गर्न आवश्यक नरहेको तर्क दिएको छ । आर्थिक गतिविधिमा सुधार देखिएको हो भने सेयर बजार पनि बढ्नु पर्ने तर्क लगानीकर्ताहरूको छ । 

नेप्से सूचकले गत बिहीबार घट्दो क्रमलाई निरन्तरता दिएको भएपनि कारोबार रकममा भने सुधार आएको छ । आइतबार नेप्से सूचक २७३८.०६ बिन्दुमा आइपुग्दा आठ अर्ब ८३ करोड २२ लाख २५ हजार आठ सय ९२ बराबरको सेयर किनबेच भएको छ ।आइतबार नेप्सेमा तीन सय १४ कम्पनीको एक करोड ६७ लाख ६७ हजार एक सय ६८ कित्ता सेयर ८२ हजार ६ सय दुईपटक खरिदबिक्री भएको नेप्सेले जनाएको छ । 

आइतबार व्यापार समूह ९.०७, विकास बैंक समूह ४.५२ र होटल तथा पर्यटन समूह ०.३० प्रतिशतले बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी वित्त समूह २.९६ प्रतिशतले घटेको छ । 

बैंकिङ १.४७, जलविद्युत् १.१४, लगानी १.१५, जीवन बिमा १.३५, उत्पादन तथा प्रशोधन ०.५७, लघुवित्त ०.९२, म्युचुअल फण्ड ०.२३, निर्जीवन बिमा ०.०१ र अन्य समूह १.३५ प्रतिशतले घटेको छ ।

पाँचवटा कम्पनीको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । विशाल बजार कम्पनी लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, ग्रिन डेभलपमेन्ट बैंक लिमिटेड र सप्तकोसी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । जानकी फाइनान्स कम्पनी लिमिटेडको सेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको ३४ करोड ३१ लाख ४९ हजार सात सय १७ बराबरको कारोबार भएको छ । त्यस्तै, कारोबार भएको सेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको पाँच लाख आठ हजार तीन सय ४१ कित्ता सेयर किनबेच भएको छ

प्रकाशित मिति: १६ मंसिर २०८१, आइतबार  १६ : ५९ बजे