नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक घट्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा वलीको सरकार परिवर्तन हुन सक्ने हल्लाले धितोपत्र बजार निरन्तर घटेको हो ।
तर, बेल्ट एण्ड रोड इनिसियटिभमा नेपालले अनुदान सहयोग मात्र लिने गरी सम्झौता गरेको भनेर नेपाली काग्रेसले स्पष्ट पारेपछि सरकार परिवर्तन नहुने करिब पक्का भएको छ । ओलीकै सरकारले निरन्तरता पाउने भएपछि मंगलबार देखि भने बजार बढ्न सक्ने देखिन्छ ।
यो साता नेप्सेमा कारोबार भएको पहिलो दिन आइतबार ४५ अंक भन्दा धेरैले घटेको नेप्से सोमबार १२.८४ अङ्कले घटेर २६७६.१५ को विन्दुमा कायम भएको हो । सोमबार नेप्सेमा तीन सय १७ कम्पनीको एक करोड १५ लाख २३ हजार तीन कित्ता सेयर ६२ हजार सात सय ५८ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ६२ करोड ९९ लाख ४५ हजार आठ सय २२ रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम आइतबारको त्लनामा थोरै हो ।
सोमबार कारोबारमा आएका वित्त समूह ०.१५, लगानी ०.७६, उत्पादन तथा प्रशोधन १.०६, म्युचुअल फन्ड ०.१४ र अन्य समूह ०.११ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेका छन् । बैंकिङ ०.४६, विकास बैंक ०.६८, होटल तथा पर्यटन ०.८३, जलविद्युत् ०.५४ र जीवन बिमा समूह १.६७ प्रतिशतले घटेको छ ।
यसैगरी, लघुवित्त समूह ०.६१, निर्जीवन बिमा समूह १.१६ र व्यापार समूह १.३० प्रतिशतले घटेको छ । इमर्जिङ नेपाल लिमिटेडको सेयर मूल्य आज सबैभन्दा धेरै ०.७६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार भएको रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको ३५ करोड २७ लाख २० हजार चार सय ४९ रुपैयाँ बराबरको कारोबार भएको छ । सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै आरबिबी म्युचुअल फन्ड–को पाँच लाख १७ हजार चार सय कित्ता सेयर किनबेच भएको छ ।
प्रतिक्रिया