चार महिनामा करिब आठ अर्बको सेयर निष्कासन अनुमति


काठमाडौँ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८१\८२ को चार महिनामा करिब आठ अर्बको सेयर निष्कासन अनुमति पाएको छ ।

बोर्डले पाँच अर्ब ८९ करोड बराबरको हकप्रद सेयर र एक अर्ब ९० करोड बराबरको म्युचुअल फन्ड गरी कुल सात अर्ब ७९ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको हो ।

समीक्षा अवधिमा तीन अर्ब ९१ करोड बराबरको हकप्रद सेयर, तीन अर्ब ६७ करोड बराबरको बोनस सेयर र ४७ लाख बराबरको एफपिओ गरी कुल सात अर्ब ५८ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

चालु आवको कात्तिक मसान्तमा धितोपत्र बजार पुँजीकरण ४३ खर्ब ७६ अर्ब ९० करोड कायम भएको छ । २०८० कात्तिक मसान्तमा बजार पुँजीकरण २८ खर्ब ५३ अर्ब एक करोड रहेको थियो ।२०८० कात्तिक मसान्तमा एक हजार ८५२.०९ रहेको नेप्से सूचकाङ्क २०८१ कात्तिक मसान्तमा दुई हजार ७४८.७९ कायम भएको छ ।

गत कात्तिक मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीको सङ्ख्या २६७ पुगेको छ ।

प्रकाशित मिति: ३० मंसिर २०८१, आइतबार  ११ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।