नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सोमबार उच्च अंकको सुधार आएको छ । पछिल्लो समयमा निरन्तर घटेको धितोपत्र बजार सूचकमा सोमबार आएको सुधारले लगानीकर्तामा आशा जगाएको हो ।
सोमबार नेप्से परिसुचक बढेको भएपनि सो अनुपातमा कारोबार रकममा भने सुधार आउन सकेको छैन । त्यसले गर्दा पनि लगानीकर्ताले मङ्गलबारको बजार नहेरी लगानी बढाउने वा घटाउने निर्णय गर्न नसक्ने बताउँछन ।
सोमबार नेप्से २८.९१ अङ्कले बढेर दुई हजार ६ सय १२.२० विन्दुमा पुगेको छ । नेप्सेका अनुसार आज विभिन्न तीन सय २८ कम्पनीका ८९ लाख आठ हजार आठ सय ५१ कित्ता सेयर ५५ हजार नौसय ३८ पटक खरिदबिक्री हुँदा ४ अर्ब ४३ करोड २४ हजार ६ सय तीन रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम आइतबारको तुलनामा ८ करोडले थोरै हो । आइतबार नेप्सेमा ४ अर्ब ४५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।
सोमबारको कारोबारपछि सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको ९.९९ प्रतिशत, बलेफी हाइड्रोपावर लिमिटेडको ९.९३ प्रतिशत र नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको सेयर मूल्य ८८६ प्रतिशतले बढेको छ ।
त्यसैगरी मानुसी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्दा कूल ४२ वटा कम्पनीको सेयर मूल्यमा रातो देखिएको छ ।
नेप्सेका अनुसार सोमबार कर्पोरेट डेभलपमेन्ट बैंकको ३.१६ प्रतिशत, पिपुल्स पावर लिमिटेडको २.३१ प्रतिशत, ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ को १.९० प्रतिशत र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य १.८६ प्रतिशतले ओरालो लागेको छ ।
प्रतिक्रिया