नेप्सेको कारोबार रकम २ महिना यताकै उच्च, बजार सूचकमा दोहोरो अङ्कको गिरावट


नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक घटेको भएपनि कारोबार रकममा उल्लेख्य सुधार आएको छ । साताको पहिलो दिनको कारोबारमा नेप्सेको कारोबार रकम ९ अर्ब भन्दा माथि पुगेको हो ।

आइतबार नेप्से सूचक दोहोरो अङ्कले घट्दा पनि कारोबार रकममा सुधार आएको हो । अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रमा सकारात्मक सङ्केतहरूले देखा परेको भनेसँगै नेप्सेमा केही सुधार देखिन थालेको छ । साथै वित्तीय प्रणालीमा अधिक तरलता र न्यून ब्याजदरले पनि धितोपत्र बजारलाई सकारात्मक बनाउन तर्फ प्रेरित गर्दे आएको छ ।

आइतबार नेप्सेमा ९ अर्ब १२ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ आइतबारको कारोबार रकम गत मंसिर १७ गते यताकै उच्च हो । गत मंसिर १७ गते नेप्सेमा १० अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आइतबार नेप्से परिसूचक १०.४१ अङ्कले घटेर २६४३.९३ को बिन्दुमा कायम भएको छ। आइतबार तीन सय १८ कम्पनीको एक करोड ५७ लाख २० हजार तीन सय ६७ कित्ता सेयर ९४ हजार आठ सय १३ पटक खरिदबिक्री हुँदा ९ अर्ब १२ करोड ८६ लाख ७३ हजार पाँच सय १४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार विकास बैंक समूह ०.५९, जलविद्युत् ०.५४, लघुवित्त ०.७५, म्युचुअल फण्ड ०.४८ र अन्य समूह ०.०३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

सबैभन्दा बढी वित्त समूह ४.७६ प्रतिशतले घटेको छ । त्यस्तै, बैंकिङ ०.८९, होटल तथा पर्यटन ०.२७, लगानी ०.५०, जीवन बिमा ०.६१, उत्पादन तथा प्रशोधन १.६६, निर्जीवन बिमा ०.६७ र व्यापार समूह ०.७५ प्रतिशतले घटेको छ ।

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने चारवटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल (बालाजु) लिमिटेड, एनआईसी एसिया डिभेञ्चर ०८२/८३, डोल्टी पावर कम्पनी लिमिटेड र जानकी फाइनान्स कम्पनी लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको ३९ करोड ५३ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको चार लाख ११ हजार छ सय २७ कित्ता सेयर किनबेच भएको छ ।

प्रकाशित मिति: १३ माघ २०८१, आइतबार  १५ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।