बबरमहलको आकाशे पुल यसै हप्तादेखि सञ्चालनमा आउने


काठमाडौँ । काठमाडौँको बबरमहलस्थित निर्माणाधीन आकाशे पुल यसै हप्ताभित्र सञ्चालनमा आउने भएको छ ।

सवारीसाधनको चाप र पैदलयात्रुको बाक्लो आवागमनलाई मध्यनजर गर्दै आकाशे पुल निर्माण गरिएको हो । 

पुल निर्माण भएसँगै पैदलयात्रुले सुरक्षित रूपमा सडक पार गर्न सजिलो हुनुका साथै सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सडक डिभिजन कार्यालय, काठमाडौँका अनुसार पुल निर्माणको भौतिक प्रगति अन्तिम चरणमा पुगेकाले केही दिनभित्रै सर्वसाधारणका लागि खुला गर्ने तयारी भइरहेको बताइन्छ ।

विसं २०८२ फागुन २१ गते निर्माण सम्झौता भई पुल निर्माण सुरु भएको थियो । पुल यसै हप्ता भित्रै पैदलयात्रुका लागि सञ्चालनमा ल्याउने तयारी गरिएको सडक डिभिजन कार्यालय काठमाडौँका प्रमुख सुबोध देवकोटाले बताए ।

उक्त पुल निर्माणका लागि दुई करोड ५२ लाख ४५ हजार ९५३ रुपैयाँ लागत निर्धारण गरिएको थियो । पुल निर्माणको जिम्मेवारी हेटौँडास्थित हाइटेक इन्जिनियरिङ वक्र्स प्रालिले पाएको सडक डिभिजन कार्यालय काठमाडौँले जनाएको छ ।

प्रकाशित मिति: ९ कार्तिक २०८३, सोमबार  १४ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।