उद्योगले उत्पादन क्षमताका आधारमा सुपारी, मरीच र कोराउ आयात गर्न पाउने


सरकारले सुपारी, केराउ र मरिचको आयातका लागि थप कसिलो व्यवस्था गरेको छ । सरकारले यसभन्दा अघिको निर्णयलाई खारेज गर्दै नयाँ व्यवस्था थप गरी कच्चा पदार्थको रुपमा उल्लेखित वस्तुहरूको आयात गर्न सक्ने व्यवस्था गरको हो । 

सरकारले गत असोज ७ गते निर्णय गर्दै सुपारी केराउ र मरिचको आयात खुला गरेको थियो । सरकारले उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनको लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ, र मरिचको आयातलाई व्यवस्थित गर्ने सम्बन्धी  कार्यविधि २०७८ अनुसार आयात गर्न सक्ने व्यवस्था गरेको थियो  ।
गत असोजको व्यवस्थालाई खारेज गर्दै सरकारले नयाँ मापदण्ड बनाई सुपारी, केराउ तथा मरीच आयात गर्न सक्ने व्यवस्था गरेको हो ।

नयाँ व्यवस्था अनुसार उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनको लागि मात्र कच्चा पदार्थको रुपमा केराउ, सुपारी र मरीच (सेतो मरीच र कालो मरीच लाई आर्थिक वर्ष २०८१/८२ को लागि आयात गर्न अनुमति दिने निर्णय गरेको छ । अनुमति दिँदा उद्योग विभागबाट देहायका विषयमा आवश्यक जाँचबुझ गरी सम्बन्धित उद्योगको लागि आवश्यक पर्ने कच्चा पदार्थको परिमाण यकिन गरी तोकिएका मालवस्तु पैठारीको लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा सिफारिस गर्ने व्यवसथा गरेको छ ।

सरकारले नयाँ स्थापना भएका उद्योगको हकमा उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि, भ्याट/प्यान दर्ताको प्रमाणपत्रको प्रतिलिपि, उद्योगको उत्पादन क्षमता, उद्योगको वार्षिक स्वीकृत स्कीमको प्रतिलिपि चालु आर्थिक वर्षमा सञ्चालन हुने र उत्पादन लक्ष्यको स्वघोषणा लगायतका विवरण पेस गर्नु पर्ने ब्यवस्था गरेको छ । 

त्यसैगरी विगत देखि सञ्चालनमा रहेका उद्योगको हकमा उद्योग दर्ता प्रमाण पत्र र कम्पनी अद्यावधिक भएको पत्रको प्रतिलिपि, भ्याट/प्यान दर्ताको प्रमाणपत्रको प्रतिलिपि, पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी पेस गर्नु पर्नेछ । साथै उद्योगको उत्पादन क्षमता, सञ्चालन अवस्था, चालु आर्थिक वर्षमा सञ्चालन हुने र उत्पादन लक्ष्यको स्वघोषणा पनि विभागमा पेस गर्नु  पर्नेछ । त्यसैगरी सरकारले उद्योगको वार्षिक स्वीकृत स्कीमको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षमा कच्चा पदार्थ पैठारी गरेको भए आयातको परिमाण, त्यसको उपयोगबाट भएको उत्पादन र बचत परिमाण लगायतका विवरण समेत पेस गर्नु पर्ने व्यवस्था गरेको हो । 

प्रकाशित मिति: ४ फाल्गुन २०८१, आइतबार  १६ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।