हिमालयन डिष्टिलरीका पूर्व संचालक र ब्रोकर नं ५३ धितोपत्र बोर्डको कारबाहीमा

0
Shares

नेपाल धितोपत्र बोर्डले हिमालयन डिष्टिलरीका पूर्व सञ्चालक रहिसा शाह श्रेष्ठ र इन्भेष्टमेन्ट म्यानेजमेन्ट कम्पनीलाई कारबाही गरेको छ । बोर्डले सूचीकृत संगठित संस्थाको संचालकलाई गरिएको यो पहिलो कारवाही हो ।

बोर्डले हिमालयन डिष्टिलरीका पूर्व संचालक श्रेष्ठलाई ७५ हजार जरिवाना गरेको छ भने इन्भेष्टमेन्ट म्यानेजमेन्ट कम्पनीलाई एक लाख रुपैयाँ जरिबाना गराएको हो । बोर्डले अनधिकृत रुपमा शेयर कारोबार गरे वापत उनीहरुलाई जरीबाना गरेको हो। बोर्डको कारवाहीसँगै शाहलाई आगामी १० वर्षसम्म कुनै पनि सूचीकृत संस्थाको सञ्चालक बन्न पनि रोक लगाएको छ ।

हिमालयन डिष्टिलरी लि.को पूर्व संचालक रहिशा शाह श्रेष्ठले सूचीकृत संगठित संस्थाको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ को दफा १४ को उपदफा (६) को व्यवस्था विपरीत संचालक पदबाट हटेको एक वर्ष नपुग्दै विभिन्न मितिमा हिमालयन डिष्टिलरीको शेयर बिक्री गरेको बोर्डको भनाई छ ।

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को परिच्छेद ९ को ३८ क अनुसार सञ्चालकहरुले राजीनामा गरेको एक वर्ष अवधीसम्म शेयर किनबेच गर्न नपाउने व्यवस्था छ । सो व्यवस्था अनुसार २०७७ भदौ २५ गतेसम्म शाहलाई आफ्नो शेयर बेच्न वा अरु शेयर किन्न बन्देज रहन्छ । तर पूर्व सञ्चालक शाहले चैत ६ गते नियम विपरित २७ करोड बढीको २ लाख १३ हजार १८३ कित्ता शेयर बिक्री गरेकी थिइन् ।

साथै उक्त शेयर कारोवारमा संलग्न धितोपत्र दलाल व्यवसायी इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल प्रालिले रहिशा शाह श्रेष्ठको बारेमा धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम २९ को उपनियम (१) को व्यवस्था बमोजिमको पूर्ण विवरण सहितको अभिलेख नराखेको तथा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशन, २०७६ को दफा ६ को उपदफा (२) तथा दफा १० बमोजिम ग्राहक पहिचान लगायत अन्य आवश्यक जानकारी अद्यावधिक राख्नुपर्नेमा सो को पूर्ण रुपमा पालना नगरेको बोर्डको भनाई छ ।

शेयर कारोबार प्रणालीमा बिक्री आदेश प्रबिष्ट गर्नु अघि उक्त कारोवार धितोपत्र सम्बन्धी ऐन, नियम, विनियम तथा निर्देशन बमोजिम गर्न मिल्ने नमिल्ने सम्बन्धमा आवश्यक सावधानी अपनाएको नदेखिएको सन्दर्भमा बोर्डले कारवाही गर्ने निर्णय गरेको जनाएको छ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (७) मा धितोपत्र सम्बन्धी ऐन वा ऐन अन्तर्गत बनेको नियम वा विनियम वा सो अन्तर्गत जारी गरिएका कुनै आदेश वा निर्देशन वा बोर्डले तोकिदिएका शर्तहरुको उल्लंघन गरेमा वा आफूले गर्नुपर्ने काम नगरेमा वा गर्न नहुने काम गरेमा त्यस्तो व्यक्तिलाई बोर्डले ५० हजारदेखि ७५ हजार रुपैयाँसम्म जरिवान गर्न सक्ने व्यवस्था भएकोमा रहिसा शाह श्रेष्ठलाई अधिकतम बिन्दुमा ७५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ ।

सूचीकृत संगठित संस्थाको संचालकलाई गरिएको यो पहिलो कारवाही रहेको हो ।  धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (६) मा कसैले धितोपत्र सम्बन्धी ऐन वा ऐन अन्तर्गत बनेको नियम वा विनियम बमोजिम पु¥याउनु पर्ने रीत नपु¥याई धितोपत्र निष्काशन गरेमा, धितोपत्र बजार वा धितोपत्र व्यवसायीको हैसियतले धितोपत्र कारोबार संचालन गरे गराएमा त्यस्तो काम गर्ने गराउने व्यक्तिलाई बोर्डले ५० हजार रुपैयाँदेखि एक लाख पचास हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था भएकोमा धितोपत्र दलाल व्यवसायी इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल प्रा.लि.लाई एक लाख ५० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको बोर्डले जनाएको छ ।

बोर्डले धितोपत्र सम्बन्धी कानूनको प्रबलीकरणलाई सशक्त बनाउँदै लैजाने क्रममा गरिएका यस्ता कारबाहीबाट धितोपत्र सम्बन्धी कसूरहरुको न्यूनीकरण भई दोस्रो बजार कारोवार थप स्वच्छ र पारदर्शी हुने र बजारका सम्बद्ध पक्षहरुले ऐन नियमको पालना तर्फ थप सजगता अपनाउने बोर्डको अपेक्षा छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।