नेपाल फाइनान्सको १२५% हकप्रद स्वीकृत, पूँजीवृद्धिका लागि अर्को १७५% पनि आउने

0
Shares

नेपाल फाइनान्स कम्पनी (NFS) को १२५ प्रतिशत हकप्रद शेयर स्वीकृत भएको छ । नियामक निकाय धितोपत्र बोर्डले फाइनान्सलाई एक बराबर एक दशमलव २५ प्रतिशत हकप्रद जारी गर्ने अनुमति सोमबार दिएको हो ।

यसअनुसार फाइनान्स कम्पनीले एक बराबर १.२५ अनुपातमा १६ लाख ९७ हजार ५०६ दशमलव २५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । उक्त हकप्रद निष्काशनका लागि फाइनान्सले गत फागुन २९ गते बोर्डमा आवेदन दिएको थियो ।

फाइनान्स कम्पनीले हकप्रद निष्काशनका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक तोकेको छ ।

हाल फाइनान्सको चुक्ता पूँजी १३ करोड ५८ लाख रुपैयाँ रहेको छ । १२५ प्रतिशत प्रतिशतले हुन आउने १६ करोड ९७ लाख ५० हजार रुपैयाँको हकप्रद बिक्रीपछि फाइनान्स कम्पनीके चुक्ता पूँजी ३० करोड ५५ लाख ५१ हजार रुपैयाँ पुग्नेछ ।

फाइनान्सको शेयर सोमबार धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता २४२ रुपैयाँ हाराहारीमा कारोबार भएको छ । गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासम्ममा फाइनान्सको सञ्चित जगेडा नोक्सानी १८ करोड ४७ लाख रुपैयाँ रहेको छ ।  गत आर्थिक वर्षको चौथो त्रैमासम्ममा फाइनान्सको सञ्चित जगेडा नोक्सानी १९ करोड ५४ लाख रुपैयाँ रहेको थियो । 

पूँजीवृद्धिका लागि अर्को १७५ प्रतिशत हकप्रद पनि आउने

केही समय अघि मात्र समस्याग्रस्त संस्थाबाट मुक्त भई नियमित कारोबार सञ्चालन गरेको कम्पनीले नियामक निकाय नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार ८० करोड रुपैयाँ चुक्ता पूँजी कायम गर्नका लागि अर्को १७५ प्रतिशत हकप्रद जारी गर्ने तयारी गरेको छ ।

कम्पनीको असोज १० गते शनिबार एकसाथ सम्पन्न भएको ८ आर्थिक वर्षको साधारण सभाले संस्थाको चुक्ता पूँजी वृद्धिका लागि १७५ प्रतिशत हकप्रद शेयर बिक्री गर्ने लगायतका प्रस्ताव पारित गरेको हो ।

जसअनुसार फाइनान्सले १२५ प्रतिशत हकप्रद पश्चात कायम हुने चुक्ता पूँजी ३० करोड ५५ लाख ५१ हजार रुपैयाँको १७५ प्रतिशत अर्थात ५३ करोडड ४७ लाख १४ हजार रुपैयाँको हकप्रद जारी गरी ८४ करोड २ लाख ६५ हजार ५९४ रुपैयाँ कायम गर्ने प्स्ताव अनुमोदन भएको हो ।

अब फाइनान्सले उक्त हकप्रद जारी गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिनेछ । बोर्डबाट स्वीकृती पाएपछि मात्र उक्त हकप्रद बिक्रीमा आउनेछ । कम्पनीले साधारण सभाबाट पारित गरेपनि क्रेडिट रेटिङ्ग लगायतका काम गर्न भने बाँकी नै रहेको छ ।
निजी क्षेत्रको पहिलो फाइनान्स कम्पनीको रुपमा नेपाल फाइनान्स विसं २०४९ सालमा स्थापना भएको थियो।

नेपाल राष्ट्र बैंकबाट ग वर्गको मान्यता प्राप्त राष्ट्रिय स्तरको नेपाल फाइनान्स २०७१ पुस १७ गतेदेखि समस्याग्रस्त वित्तीय संस्था घोषणा भई व्यवसायिक कारोबार रोक्का रहेकोमा राष्ट्र बैंकको २०७६ पुस २० गते बसेको बैठकले समस्यागस्त अवस्थाबाट सशर्त फुकुवा गरेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ असाेज २०७७, सोमबार  १४ : ०५ बजे