उपत्यकाका सबै जिल्लामा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द

0
Shares

उपत्यकाका तीनवटै जिल्लामा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ । काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढेको र कार्यालयकै कर्मचारीमा पनि कोरोना सङ्क्रमण पुष्टि हुन थालेपछि तीनवटै कार्यालयले अर्को सूचना प्रकाशन नभएसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेका हुन् ।

जिप्रका काठमाण्डौंले असोज २८ गतेदेखि नै अत्यावश्यक बाहेकको सेवा बन्द गरेकोमा जिप्रका ललितपुर र भक्तपुरले पनि कार्तिक २ गते आइतबारदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने सूचना जारी गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत यज्ञराज जोशीले काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढेको र कार्यालयकै कर्मचारीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएकाले जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको निर्णयअनुसार आइतबारदेखि अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरिएको बताए ।

उनले कार्यालयबाट शान्ति सुरक्षासम्बन्धी, ठाडो निवेदन र उजुरी सम्बन्धी, मुद्दाको सुनुवाइसम्बन्धी र विपद् व्यवस्थापन सम्बन्धी मात्र सेवा पाइन र उल्लेदित बाहेकका अरु सेवा स्थगित गरिएको बताए ।

यसैगरी जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि कार्तिक २ गते आइतबारदेखि अर्को सूचना जारी नभएसम्मको लागि जिल्लाका अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने भएको छ । सबै सरोकारवाला निकायसँगको छलफलपछि डिसिसीएमसीले सो निर्णय गरेको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवास्थापन केन्द्रको निर्णय अनुसार ललितपुरमा अत्यावश्यक बाहेक सेवा बन्द गर्ने निर्णय गरिएको हो । उपत्यकामा कोभिड–१९ संक्रमणको दर अत्यधिकरुपमा बढिरहेको अवस्थामा सेवाग्रहीहरुको भीडभाड बढेकाले संक्रमण फैलनसक्ने जोखिमका कारण सेवा स्थगित गर्नुपरेको सहायक प्रजिअ ललितकुमार बस्नेतले बताए । विद्युत, खानेपानी र टेलिकम जस्ता सेवा भने बन्द हुने छैनन् ।

यस्तै जिल्ला प्रशासन कार्यालय काठमाडौंले भने असोज २८ गते बुधबारदेखि नै अर्को सूचना नआएसम्मका लागि भन्दै अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरिसकेको छ ।

कार्यालयमा कार्यरत चारजना कर्मचारीहरुमा समेत कोरोना संक्रमणको पुष्टि भइसकेको साथै सेवाग्राहीको भीडभाड अत्यधिक बढेको भन्दै यस्तो निर्णय गरेको हो ।

“शान्ति सुरक्षा सम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी सम्बन्धी सेवा, मुद्दाको सुनुवाइ सम्बन्धी सेवा र विपद् व्यवस्थापन सम्बन्धी सेवा बाहेकका सबै काम, कारबाही स्थगित गरिएको छ । ” सूचनामा उल्लेख छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।