बजेट निर्माणका आधारभूत मूल्य मान्यता र सीमालाई अनुशरण गरी बजेट ल्याइएको छ : अर्थमन्त्री पौडेल


काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२\८३ का लागि सरकारले ल्याएको बजेट निर्माणका क्रममा आधारभूत सिद्धान्त, मूल्य मान्यता र सीमालाई अनुशरण गरिएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)द्वारा शनिबार आयोजित बजेटपछिको छलफलमा उनले मेहनतका साथ काम गरे राजस्व लक्ष्य पनि सहजै पूरा गर्न सकिने गरी निर्धारण गरिएको स्पष्ट पारे ।

अर्थमन्त्री पौडेलले भने, ‘कहाँबाट आम्दानी हुन्छ, कति हुन्छ, त्यसको कहाँ र कसरी खर्च हुन्छ भन्ने सबै स्पष्ट छ । आन्तरिक ऋण पनि राष्ट्रिय वित्त आयोगले दिएको सुझावभित्र रहेर प्रक्षेपण गरिएको छ ।’

अन्तर्राष्ट्रियस्तरबाट प्राप्त हुनसक्ने सहयोग सीमाको पाटोलाई पनि हेक्का राखेर बजेट निर्माण गरिएको बताउँदै उनले स्रोत अनुमान ठीकै रहेको प्रतिक्रिया पाएकाले त्यसलाई प्रभावकारी परिचालनबाट पूरा गर्न सकिने दाबी गरे ।

‘बजेट प्रभावकारी कार्यान्वयनबाट आर्थिक वृद्धिदरलाई प्राप्त गर्न सकिन्छ । बजेटलाई सहकारी क्षेत्रको महत्वलाई बुझेर समस्या समाधानमा केन्द्रित गरिएको छ । युवालाई नवप्रवर्तनका माध्यमबाट अघि बढाउन स्पष्ट र सशक्त पहल गरिएको छ । अब पूर्वाधार निर्माण समयमै पूरा गर्न र गुणस्तर कायम गराउन विशेष ध्यान दिइने छ’, अर्थमन्त्री पौडेलले भने ।

पूर्वअर्थमन्त्री जनार्दन शर्माले विगतको निरन्तरताका रूपमा ल्याइएको बजेटले अर्थतन्त्र सुधार र नागरिकको जीवनमा समृद्धि दिलाउन नसक्ने जिकिर गरे ।

‘नीतिगत र स्रोत व्यवस्थापनका हिसाबले विगतको निरन्तरतामा बजेट आएको छ । आर्थिक वृद्धिदर बढाउने कार्यक्रम देखिएको छैन । स्रोतको ठूलो दबाबमा बजेट छ । बजेटमा उल्लेख गरेको वैदेशिक लगानी र सहयोग कसरी जुट्छ ? किसान र हाम्रा स्रोतसाधन जोड्ने कार्यक्रम बजेटमा कहाँ छ’, उनले भने ।

आर्थिक क्षेत्रको महत्त्वपूर्ण निजी क्षेत्र उत्साहित हुनु आफैंमा सकारात्मक रहेको बताउँदै पूर्वअर्थमन्त्री शर्माले युवा र श्रम परिचालनको विषय नबोलिएकाले युवा आकर्षण र रोजगारी दिने विषय बजेटमा नपरेको दाबी गरे ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा। शिवराज अधिकारीले बजेट कार्यान्वयनमा प्रमुख प्रतिपक्ष दल र निजी क्षेत्रले दिएका सुझावलाई आत्मसात गर्ने विश्वास दिलाए ।

प्रकाशित मिति: १८ जेठ २०८२, आइतबार  ०६ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।