विश्वभरी फैलिएको कोरोना भाइरसका कारण अस्तव्यस्त आर्थिक गतिविधिका बाबजुत शेयर बजार नयाँ उचाई तर्फ उन्मुख देखिएको छ । बुधबार मात्र करिब २९ अंकले बढेर शेयर बजार सूचक १ हजार ७०० भन्दा माथि पुगेको छ ।
वित्तीय बजार प्रयाप्त तरलता तथा कर्जाको ब्याजदरमा आएको गिरावटका कारण पूँजी बजार सकरात्मक दिशा तर्फ गएको सरोकारवालाहरु बताउँछन् । वित्तीय प्रणालीको तरलता र ब्याजदरको अवस्थाले शेयर बजारलाई प्रत्यक्ष असर गर्नेगर्छ । वित्तीय प्रणालीको ब्याजदर घटेको अवस्थामा शेयर बजार बढ्ने र ब्याजदर बढेको अवस्थामा पूँजी बजार घट्ने गर्छ ।
अहिलेको अवस्थामा बैंक तथा वित्तीय संस्थामा २ खर्बको हाराहारीमा अधिक तरलता रहेको छ । त्यसैगरी बैंक/वित्तीय संस्थाको कर्जाको ब्याजदर समेत एकल अंकमा झरेको अवस्था छ ।
केही समय अघिसम्म दोहोरो अंकमा रहेको ब्याजदर अहिलेको अवस्थामा एकल अंकमा झरेको अवस्थामा पनि बैंक वित्तीय संस्थामा कर्जाको माग आउन नसक्दा वित्तीय प्रणालीमा अधिक तरलता देखिएको हो ।
कोरोनाका कारण ब्यापार व्यवसाय विस्तार गर्ने वातावरण नभएपछि बजारमा नयाँ लगानीकर्ता समेत प्रवेश गरेको अवस्था छ । लगानीका अन्य क्षेत्रहरु सीमित भएपछि शेयर बजारमा लगानी बढ्नु समान्य हो । विगत ४ वर्ष निरन्तर घट्दो क्रममा रहेको शेयर बजारले नकरात्मक चक्र पूरा गरी सकारात्मक दिशातर्फ लागेको इन्भेष्टर्स फोरकमका अध्यक्ष छोटेलाल रौनियारले बताए ।
बजारले नयाँ उचाइ बनाउने अघि बढीसकेको हुनाले अहिलेको समयमा केही नाफा बुक गरेर बलिया कम्पनीको शेयरमा लगानी बढेको समय आएको उनको भनाई छ ।
वित्तीय प्रणालीमा अधिक तरलता, सस्तो ब्याजदरमा सहज कर्जाको उपलब्धताले लगानीकर्ताको मनोबल उच्च भएको लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले बताए । “बैंक ब्याजदर घटेर न्यून बिन्दुमा आएका कारण लगानीकर्ताको पहिलो रोजाई बचत भन्दा शेयर बजारमा लगानीमा केन्द्रित बनेको छ,” उनले भने, “यो अवस्था रहुन्जेलसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ठूलो करेक्शन आउने सम्भावना न्यून छ ।”
त्यसले गर्दा पनि बजारमा लगानीकर्ताको सहभागीता उल्लेख्य रुपमा बढेको नेपाल स्टक ब्रोकर एसोशीएसनका अध्यक्ष सन्तोष मैनालीले बताए । “बैंक वित्तीय संस्थाको घट्दो ब्याजदर र अधिक तरलताका साथै प्रविधिमैत्री भएको हुनाले पनि बजारको सुधार देखिएको हो”, उनले भने ।
धितोपत्र बजारमा देखिएको सुधार दीर्घकालिन रहनेमा भने शङ्का रहेको वित्त विश्लेषक हेमन्त बस्यालले बताए । “बैंक वित्तीय संस्थाले आफ्नो वित्तीय अवस्था सुदृढीकारणका लागि ध्यान दिएको हुनाले क्षमता अनुसारको प्रतिफल दिएका छैनन् ।” बैंकिङ क्षेत्रको स्टकको शेयरमूल्यमा सुधार आउने सम्भावना न्यून भएकाले बजारका सुधार दीर्घकालिन हुने सम्भावना न्यून रहेको उनले बताए ।
लगानीकर्ता आफुले लगानी गर्ने कम्पनीको विगतका र भविष्यमा गर्नसक्ने प्रगति तथा देशको अर्थतन्त्र अवस्थालाई हेरेर लगानी गर्नुपर्ने नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बताए । “यस्तो बेलामा अझ सजग भएर लगानी गर्ने हो, अवसर छ भन्दैमा जहाँपायो त्यहि लगानी नगरी कम्पनी छनौट गरेर लगानी गर्नुपर्ने हुन्छ ।”

लगानीका अन्य क्षेत्रहरु संकुचित भएको अवस्थामा लगानीको उचित विकल्प बनेका कारण नै पछिल्ला दिनहरुमा शेयर बजार प्रवेश गर्ने लगानीकर्ताहरुको संख्या बढ्दो अवस्थामा छ । बजारका लगानीकर्ता पुनः फर्किएका छन् । जसले लगानीकर्ताको आत्मबल बढेको आभाष गरिएको छ ।
पछिल्ला २ दिनमा मात्र ८ अर्ब रुपैंयाँभन्दा बढीको शेयर कारोबार हुनुले पनि लगानीकर्ताको आत्मबल बलियो बनेको विषयलाई प्रष्ट बनाउँछ । अर्कातिर बजारमा दिनहुँ आएको तीब्र दरको वृद्धिले सामान्य आकारको पूँजी भएका लगानीकर्ता पनि बजारमा आकर्षित भएका छन् ।
बुधबार मात्र बजार परिसूचक नेप्से २८ अंक बढीले उकालो लाग्दा ४ अर्ब रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । मंगलबार पनि बजारमा ४ अर्ब रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो । बुधबार नेप्सेको बजार पूँजीकरण पनि बढेर २२ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ । पछिल्लो २ साताको बजार चक्रलाई मात्र हेर्ने हो भने लगानीकर्ताहरुले कतिपय कम्पनीको शेयरबाट आकर्षक प्रतिफल लिईसकेका छन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया