आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा ८ अर्ब ५२ करोड रुपैयाँ राजस्व सङ्कलन


काठमाडौँ । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

आन्तरिक राजस्व विभागले कार्यालयलाई चालु आवको जेठ मसान्तसम्मको अवधिमा ७ अर्ब ५१ करोड ६४ लाख ६५ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेकामा कार्यालयले सो अवधिमा ८ अर्ब ५२ करोड ९ लाख ८९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयका प्रमुख कर अधिकृत टीकाराज चौलागाईंले चालु आवको ११ महिनामा लक्ष्यको ११३ दशमलव ३६ प्रतिशत राजस्व सङ्कलन गरेको बताए।

कार्यालयले चालु आवको ११ महिनामा अन्तःशुल्क करतर्फ २ अर्ब ८४ करोड ६५ लाख ५३ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा सो शीर्षकमा लक्ष्यको १ सय ४२ दशमलव २८ प्रतिशत अर्थात् ४अर्ब ५ करोड ३८ हजार रुपैयाँ राजस्व राजस्व सङ्कलन गरेको छ ।

त्यस्तै कार्यालयले चालु आवको ११ महिनामा आयकरतर्फ २ अर्ब ३२ करोड ४८ लाख ४८ हजार रुपैयाँ लक्ष्य रहेकामा सो अवधिमा २ अर्ब ५५ करोड ५९ लाख ९४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको १०९ दशमलव ९४ प्रतिशत हुन आउँछ । कार्यालयले सो अवधिमा घरबहाल करतर्फ भने २५ करोड १० लाख रुपैयाँ ८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

त्यस्तै मूल्य अभिवृद्धि करतर्फ २ अर्ब २२ करोड ८३ लाख ६८ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा सो अवधिमा १ अर्ब ८३ करोड ७५ लाख ५० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । विभागले कार्यालयलाई वर्षभरिमा ८ अर्ब ७१ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ ।

प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार  ०७ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।