मेची भन्सारद्वारा १४ अर्ब ४३ करोड रुपैयाँ राजस्व सङ्कलन


काठमाडौँ । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१र८२ को ११ महिनामा १४ अर्ब ४३ करोड ९२ लाख ३८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । जुन सोही अवधिका लागि निर्धारित लक्ष्यको ९१।५६ प्रतिशत हो ।

कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार आव २०८१र८२ को जेठसम्ममा १५ अर्ब ७७ करोड १९ लाख ४६ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखेको थियो । गत आव २०८०र८१ को सोही अवधिमा १६ अर्ब ६७ करोड २८ लाख ४० हजार रुपैयाँ सङ्कलनको लक्ष्य राखिएकामा ७७।५६ प्रतिशतमात्र राजस्व सङ्कलन भएको थियो ।

कार्यालयको तथ्याङ्कानुसार चालु आवको ११ महिनामा मेची भन्सारबाट पेट्रोलियम पदार्थ आयातबाट ६०।८१ प्रतिशत अर्थात् ८ अर्ब ७८ करोड २७ लाख ७२ हजार रुपैयाँ सङ्कलन भएको छ । यसैगरी तरकारी आयातबाट ६२ करोड ४४ लाख ९६ हजार रुपैयाँ , यातायातका साधन र तिनका पाटपुर्जाबाट ४० करोड ७४ लाख ५० हजार रुपैयाँ , खनिज उत्पादनबाट २७ करोड ५१ लाख ९१ हजार रुपैयाँ , कफीबाट २१ करोड ५४ लाख ७० हजार रुपैयाँ, दलहनबाट २० करोड ७७ लाख ३९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको सूचना अधिकारी हुमागाईँले जानकारी दिए ।

मेची भन्सारबाट चालु आवको ११ महिनामा २३ अर्ब २८ करोड ३५ लाख ५६ हजार रुपैयाँ बराबरको वस्तु निर्यात हुँदा २३ करोड ७५ लाख १९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । यसैगरी सोही अवधिमा ४० अर्ब ७७ करोड छ लाख ४८ हजार रुपैयाँ बराबरको वस्तु आयात गरिँदा १४ अर्ब २० करोड १७ लाख १८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

प्रकाशित मिति: ९ असार २०८२, सोमबार  ०६ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।