रूपन्देही जिल्ला प्रतिनिधि सभा निर्वाचन स्वीकृत


काठमाडौँ । रूपन्देही जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनको लागि आयोगबाट निर्वाचन कार्यक्रम स्वीकृत भएको छ। स्वीकृत कार्यक्रम अनुसार असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने सोही दिन बेलुका ५ बजेदेखि ७ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ।

उल्लेखित सूचीमा रहेका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि असोज २२ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ। सोही दिनको दिउँसो ३ बजेदेखि असोज २३ गते बेलुका ५ बजेसम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी असोज २३ गते बेलुका ५ बजेदेखि ७ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।

असोज २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ। निर्वाचन कार्यक्रम अनुसार कात्तिक १७ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ।

प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार  १६ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।