कैलाली । आन्तरिक राजस्व कार्यालय धनगढीले आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब ८७ करोड ७७ लाख ८८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । सो रकम आर्थिक वर्ष २०८०/८१ को तुलनामा ७ दशमलव ४४ प्रतिशतले बढी हो ।
कार्यालयले गत आवमा ३ अर्ब ५३ करोड ५८ लाख ५८ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा लक्ष्यको ८१ दशमलव ३९ प्रतिशत सङ्कलन भएको राजस्व कार्यालयका सूचना अधिकारी छत्रबहादुर माझीले जानकारी दिए । गत आवको लक्ष्य बराबरको राजस्व सङ्कलन नभए पनि अघिल्लो आवको तुलनामा बढी सङ्कलन भएको उनले बताए।
राजस्व कार्यालयले गत आवमा आयकरअन्तर्गत साझेदारी आयकरबाट २६ करोड ७३ लाख ८ हजार रुपैयाँ, व्यक्तिगत आयकरबाट १ अर्ब २७ करोड ५९ लाख ८१ हजार रुपैयाँ, अन्तःशुल्क आयकरबाट १६ करोड ४३ लाख ९५ हजार रुपैयाँ र मूल्य अभिवृद्धि करबाट १ अर्ब ११ करोड ४ लाख ४३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको उनले बताए। आव २०८०र८१ मा ३ अर्ब ८ करोड ४१ लाख ४० हजार रुपैयाँ लक्ष्य लिएकामा २ अर्ब ६७ करोड ८४ लाख ७५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।










प्रतिक्रिया