चितवन । विदेशबाट फर्किएर यहाँ शैलुन व्यवसाय सञ्चालन गर्दै आएका एक युवाले पाँच हजार २०० जनालाई कपाल काट्ने तालिम दिएका छन् । उनीहरुमध्ये १२० जनालाई उनले निःशुल्क तालिम दिएका हुन्।
भरतपुरका सुलभ सिग्देलले यहाँको सिजी ल्याण्डमार्कमा पपुलर शैलुन सञ्चालन गर्दै आएका छन् । उनले त्यहीबाट तालिम र कपाल काट्ने काम गर्दै आएका छन् । बाह्र वर्षअघि तीन वर्ष विदेश बसेर फर्केका सिग्देलसँग तालिम लिएका ३२ जनाले चितवन र आसपासका क्षेत्रमा शैलुन सञ्चालन गर्दै आएका छन् । उनले भने, “यहाँ सिकेर नेपाल र विदेशमा अरुको सैलुनमा काम गर्ने धेरै छन् ।” विभिन्न सङ्घ संस्थाको साझेदारीमा धेरै तालिम सञ्चालन गरेको उनी बताउछन् । नीजि खर्चमा तालिम लिन आउनेहरु पनि प्रसस्तै हुने गरेका छन् । पछिल्ला वर्षहरुमा शैलुन सुरु गरेको दिन पारेर निःशुल्क तालिम समेत दिने गरेको उने बताए ।
यस वर्ष उनले १०१ जना युवालाई निःशुल्क सीपमूलक तालिम घोषणा गरेका छन् । सिग्देलले आफ्नो कम्पनी पपुलर जागरण प्रालिले स्थापना दिवसको अवसर पारेर युवालाई निःशुल्क सीपमूलक तालिम दिने घोषणा गरेका हुन् । पपुलरले सामाजिक उत्तरदायित्वअन्तर्गत कपाल काट्ने, उद्घोषण, कपडाको झोला बनाउने, टपरी बुन्ने र लागुऔषध दुव्र्यसनीसम्बन्धी सचेतनामूलक तालिम दिन लागेको उनले बताए ।
कपाल काट्ने तालिम २१ जना, उद्घोषण तालिम २० जना, कपडाको झोला बनाउने तालिम २० जना, टपरी बुन्ने तालिम २० जना र लागुऔषध दुव्र्यसनी न्यूनीकरणसम्बन्धी तालिम २० जनाभन्दा बढीलाई दिइने उनको भनाई छ। “नेपालमै स्वरोजगार बन्न चाहानेका लागि प्राथमिकतामा राखिनेछ”, उनले भने, “विदेश पलायन हुनेक्रमलाई केही हदसम्म भए पनि कम गर्न सहयोग पुग्नेछ ।” सरकारी विद्यालयमा पढ्ने विद्यार्थीलाई टपरी बुन्ने तालिम दिइने उनी बताउछन् । “विद्यार्थीदेखि विदेश गएर फर्किएका युवायुवतीलाई लक्षित गरी हामीले तालिम दिन लागेका हौँ”, उनले भने, “सबै तालिमहरु हामीले एक महिनाभित्र दिइसक्छौँ ।” नब्बे घण्टा लामो कपाल काट्ने तालिम एक महिनामा सक्ने लक्ष्य रहेको उनले बताए। व्यावसायिक रुपमा कपाल काट्ने तालिम लिने एक जनाबाट रु ३० हजार लिने गरिएको उनले बताए । (रासस)










प्रतिक्रिया