काठमाडौँ । भीजी मोटर्सले विद्युतीय सवारी साधन (ईभी) को दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ प्रशिक्षकहरुको प्रशिक्षण (ट्रेनिङ अफ ट्रेनर्स–टीओटी) सम्पन्न गरेको छ।
पहिलो चरणमा कम्पनीले साउन १० गते शनिबार काभ्रेको बनेपामा रहेको संयुक्त ड्राइभिङ ट्रायल सेन्टरमा ड्राइभिङ सेन्टरका प्रशिक्षकहरूलाई तालिम दिएको हो। उक्त कार्यक्रममा सातै प्रदेशबाट आमन्त्रित ४५ जना अनुभवी चालक प्रशिक्षकहरू सहभागी रहेको कम्पनीले जनाएको छ।
तालिम भीजी मोटर्सको सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको हो। यसको मुख्य उद्देश्य विद्यालय तथा सार्वजनिक सवारी चालकहरुलाई दीर्घकालीन रूपमा सुरक्षित, सचेत र जिम्मेवार तरिकाले विद्युतीय गाडी चलाउने बनाउनु रहेको छ।
तालिमका सहभागीलाई ईभीको प्रविधि र यसलाई चलाउने शैलीबारे सैद्धान्तिक र व्यावहारिक ज्ञान दिइएको भीजी मोटर्सले जनाएको छ। उनीहरुलाई ईभीको सुरक्षित सञ्चालन, शैक्षिक संस्थाका र सार्वजनिक सवारी साधनको सुरक्षामा आवश्यक सावधानी तथा व्यावहारिक सीपसम्बन्धी प्रशिक्षण दिइएको थियो।
उक्त तालिममा ईभीको तत्काल उत्पन्न हुने गति र आकस्मिक तीव्र गति नियन्त्रण, उकालो–ओरालोमा रिजेनेरेटिभ ब्रेकिङको प्रयोग, साइलेन्ट अपरेसनका कारण देखिने जोखिम र सजगताका उपाय, स्टेरिङ र ब्रेकिङको संवेदनशीलता सम्हाल्ने व्यावहारिक अभ्यास लगायत ज्ञान दिइएको छ। यस्तै, ड्यासबोर्डका संकेतहरू एसओसी, पावर मोटर, टर्टल मोड आदि बुझ्ने तरिका पनि सिकाइएको छ।
बनेपामा आयोजित तालिम देश विदेशमा अध्ययन र अनुभव प्राप्त प्रशिक्षकद्वारा दिइएको थियो। तालिमका सम्बन्धमा यस तालिमका मुख्य प्रशिक्षक एवं भीजी मोटर्सका अनुसन्धान तथा विकास विभाग प्रमुख सम्राट गौतम भन्छन्, ‘हामी ईभी बेच्ने मात्र होइन, यसको सुरक्षित प्रयोग सुनिश्चित गर्ने अभियानको पनि नेतृत्व गर्न चाहन्छौं। यी प्रशिक्षकहरूमार्फत अब विद्यालय र सार्वजनिक गाडीका चालकहरूलाई देशैभर प्रशिक्षित गर्न सकिनेछ।’ गौतमले फिनल्यान्डबाट मेकाट्रोनिक्स इन्जिनियरिङ विषयमा विशेषज्ञता हासिल गरेका छन्।










प्रतिक्रिया