विपद्जन्य घटनाबाट बागमती प्रदेश बढी प्रभावित , १६ जनाको मृत्यु 


काठमाडौँ । नेपालमा मनसुन भित्रिएको दुई महिना पूरा भएको छ । गत जेठ १५ गते नेपालमा मनसुन भित्रिएको हो ।

यसपाली सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिए पनि देशभर त्यसअनुसार वर्षा हुन सकेको छैन । यद्यपि विभिन्न क्षेत्रमा भारी वर्षा भएको छ । रसुवामा भने भारी वर्षा नै नभई गत असार २५ गते भीषण बाढी आउँदा ठूलो जनधनको क्षति भएको थियो । देशभर मनसुनपछि विपद्सहितका घटनामा ७२ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता भएका छन् ।

यस वर्ष मनसुन सुरु भएयता विपद्जन्य घटनाबाट बागमती प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ । बागमती प्रदेशमा मात्रै विपद्जन्य घटनामा १६ जनाको मृत्यु भएको छ । सत्र जना बेपत्ता छन् । मनसुनजन्यसहित बागमती प्रदेशमा भएका विपद्जन्य २३१ घटनामा ६२ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता, उपसचिव शान्ति महतले जानकारी दिए।

उपसचिव महतका अनुसार कोशी र लुम्बिनी प्रदेशमा १३/१३ जनाको मृत्यु भएको छ । यो २ महिनाको अवधिमा कोशीमा ३०० र लुम्बिनीमा १६२ विपद्जन्य घटना भएका थिए । ती घटनामा परेर कोशीमा ५० र लुम्बिनीमा ४५ जना घाइते भएका छन् । मधेस प्रदेशमा १५८ घटनामा ६ जनाको मृत्यु, एक जना बेपत्ता र २० जना घाइते भएका थिए भने गण्डकी प्रदेशमा १०५ घटनामा १० जनाको मृत्यु र २६ जना घाइते भएका थिए ।

उपसचिव महतका अनुसार कर्णाली प्रदेशमा १२८ घटनामा ८ जनाको मृत्यु, एक जना बेपत्ता र ४३ घाइते तथा सुदूरपश्चिम प्रदेशमा १६२ घटनामा ६ जनाको मृत्यु र ५७ जना घाइते भएका थिए । ७ प्रदेशमा मनसुनबाट २ हजार ९३८ परिवार प्रभावित भएका प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार  ०९ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।