मुस्ताङ । मुस्ताङ भन्सार कार्यालयले २० दिनमा २ अर्ब ५४ करोड ९३ लाख राजस्व सङ्कलन गरेको छ ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण रसुवागढी–केरुङ नाका पूर्ण रुपमा बन्द भएपछि नेपाल–चीन उत्तरी कोरलानाका हुँदै पैठारी गरिएका मालवस्तुबापत २० दिनमा उक्त राजस्व जम्मा भएको हो । रसुवाको भोटेकोशी बाढीपछि अधिकांश मालवस्तु कन्टेनर तथा विद्युतीय सवारी (इभी) गाडी र कन्टेनर रसुवागढी—केरुङ नाकाबाट रुट परिवर्तन भई कोरलानाका हुँदै नेपाल भित्रिएका हुन् ।
कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार भदौ १० गतेपछि कोरलानाकाबाट भित्रिएका ५६४ कन्टेनर र एक हजार ९० विद्युतीय सवारी ९इभी० गाडीको भन्सार जाँचपास भएको जानकारी दिए।
केरुङनाकाबाट रुट परिवर्तन भएका र कोरलानाकाबाट नियमित पैठारी हुने मालवस्तुबाट अहिलेसम्मकै छोटो समयमा धेरै राजस्व जम्मा भएको भन्सार प्रमुख चुडालले बताए। नेपाल–चीनतर्फका प्रमुख व्यापारी नाका रसुवागढी र तातोपानी नाका पूर्ण रुपमा बन्द अवस्थामा छ । यस्तो अवस्थामा चीनबाट पैठारी गरिने एकमात्रै वैकल्पिक मार्गका रुपमा कोरलानाका बनेको छ ।
रसुवागढी नाका पूर्ण रुपमा बन्द नहुँदै भदौ १० गते अघि चालु वर्षको साउन र भदौको ९ गतेसम्म मुस्ताङ भन्सार कार्यालयबाट जम्मा ५३ लाख मात्रै राजस्व सङ्कलन भएको थियो । यस अवधिको चालीस दिनमा कोरलानाकाबाट भित्रिएका १६३ वटा विद्युतीय सवारी (इभी) गाडी र १३३ वटा मालवस्तु कन्टेनरको मुस्ताङ भन्सार कार्यालयबाट जाँचपास भएको थियो ।
मुस्ताङ भन्सारका अनुसार चालु वर्षको साउन र भदौ महिनामा गरी ३ अर्ब ७ करोड ९३ लाख राजस्व सङ्कलन भएको छ । प्रमुख चुडालले पहिलो साउन महिनामा २६ करोड ३९ लाख राजस्व मुस्ताङ भन्सार कार्यालयमा सङ्कलन भएकोमा दोस्रो भदौ महिनामा रु दुई अर्ब ८१ करोड ५४ लाख राजस्व सङ्कलन भएको हो ।
मुस्ताङ भन्सारका अनुसार चालु वर्षको पहिलो साउन महिनामा सय वटा विद्युतीय सवारी (इभी) गाडी (लिजी–न्हेचुङ) कोरलानाका हुँदै नेपाल भित्रिदा १७ करोड ३४ लाख राजस्व सङ्कलन भएको थियो ।
यसैगरी चालु वर्षको भदौ महिनामा १ हजार २५३ वटा विद्युतीय सवारीसाधन (इभी) गाडी नेपाल भित्रिदा १ अर्ब ९३ करोड ९७ लाख राजस्व सङ्कलन भएको भन्सार प्रमुख चुडालले बताए। यस्तै चालु वर्षको साउनमा ५७ र भदौ महिनामा ६९७ वटा मालवस्तु कन्टेनर कोरलानाका हुँदै नेपाल भित्रिएका थिए ।
मुस्ताङ भन्सार कार्यालयले गत आव २०८२÷०८३ को बाह्र महिनामा ६ अर्ब ९२ करोड राजस्व जम्मा गरेको थियो । त्यस वर्ष कोरलानाकाबाट ३ हजार २२३ वटा विद्युतीय सवारीसाधन (इभी) गाडी नेपाल भित्रिएका थिए ।









