उद्योग बन्द गर्ने प्रवृत्ति र चन्दा आतङ्कप्रति महासंघद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूले उद्योग बन्द गर्ने प्रवृत्ति र चन्दा आतङ्कप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् ।

बुधबार सांझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको औपचारिक भेटवार्तामा महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले केही समयदेखि उद्योगहरूमा विभिन्न माग राखी उद्योग बन्द गर्ने कार्य भएको गुनासो गरेको हो ।

महासंघका अध्यक्ष गोल्छाले जिल्लाका उद्यमी व्यवसायीहरूबाट चन्दा आतङ्क बढेको गुनासो आएको जानकारी गराउँदै काम गर्ने वातावरण नभएको र व्यवसायिक मनोवल समेत घट्दै गएकाले सरकारले समयमै यसतर्फ उचित कदम चाल्नुपर्ने सुझाव राखे ।

बजेट र मौद्रिक नीतिले उद्यमी व्यवसायीका केही माग संवोधन गरेको भएपनि धेरैजसो कार्यान्वयन हुन नसकेकाले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन सहित कोभिड पुनरूत्थान विशेष कार्यक्रमको आवश्यकता माथि समेत जोड जोड दिए।

साथै उनले महासंघको नयां नेतृत्वले सम्मानित निजी क्षेत्र र समुन्नत मुलुक निर्माणका लागि भिजन पेपर तयारीमा लागेको बताए । अध्यक्ष गोल्छाले कोभिडका कारण मुलुकको आर्थिक विस्तारमा निकै ठूलो समस्या आएकाले अवका दिनमा समग्र अर्थतन्त्रको सुदृढिकरणका लागि महासंघले विज्ञ समेतको सहयोगमा आवश्यक गृहकार्य गरीरहेको जानकारी गराए ।

सो अवसरमा महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिनुहुंदै प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक सुदृढीकरणका लागि महासंघको नवनिर्वाचित टिमले अगाडी सारेको कार्ययोजनाको स्वागत गर्नुहुंदै सरकारले गर्नुपर्ने सहयोगका लागि आफू सधै तयार रहेको विश्वास दिलाए । ‘तपाईहरू उद्योग व्यवसायमा लाग्नुहोस, के सहयोग गर्नुपर्छ म आफै पनि र उद्योग मन्त्रालयका तर्फबाट समेत तपाईहरूलाई चाहेको सहयोग हुन्छ’, प्रधानमन्त्रीले भने । साथै प्रधानमन्त्री ओलीले व्यावसायिक एकता र सहकार्यमा पनि जोड दिए । साथै प्रधानमन्त्री ओलीले  स्वदेशी उत्पादनको प्रवद्र्धनमा लाग्न समेत आग्रह गरे ।

भेटवार्तामा महासंघका निवर्तमान अध्यक्ष भवानी राणा, विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अंजन श्रेष्ठ, रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचनको सहभागिता रहेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।