प्रचलित विनिमय दरकायम गरी विदेशी मुद्राको किस्ता रुपैयाँमा तिर्न सकिने


विदेशी मुद्रामा लिएको ऋण स्वदेशी मुद्रा अर्थात रुपैयाँमा पनि भुक्तानी गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार निर्देशन जारी गर्दै कोरोनाका कारण विदेशी मुद्रा अभाव भएका कम्पनीहरुले विदेशी मुद्रामा लिएको कर्जा रुपैयाँमा तिर्न सक्ने व्यवस्था गरेको हो ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासीक समीक्षा मार्फत विदेशी मुद्रामा लिएको कर्जाको किस्ता भुक्तानी स्वदेशी मुद्रामा गर्न सकिने व्यवस्था गर्ने उल्लेख गरेको छ ।

सोही व्यवस्थालाई कार्यान्वयनका लागि केन्द्रीय बैंकले आइतबार निर्देशन जारी गर्दै विदेशी मुद्रामा लिएको ऋणको किस्ता विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणले सम्बन्धित फर्म/कम्पनी तथा उद्योगहरुको विदेशी मुद्रा आम्दानी नभएर परिवत्र्य विदेशी मुद्रामा भुक्तानी गर्न नसकिने अवस्था भएमा अर्को व्यवस्था नभएसम्मका लागि प्रचलित विनिमय दरका हिसाबले नेपाली रुपैयाँमा किस्ता भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो ।

मौद्रिक नीतिको समीक्षा मार्फत बैंक तथा वित्तीय संस्थाबाट विदेशी मुद्रामा ऋण लिएका ऋणीहरु विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ बाट प्रभावित हुन गई विदेशी मुद्रामा साँवा तथा ब्याज भुक्तानीमा पर्न गएको असहज परिस्थितिलाई दृष्टिगत गरी यस्तो विदेशी मुद्रामा लिएको ऋणको किस्ता नेपाली मुद्रामा समेत भुक्तानी गर्न सकिने व्यवस्था मिलाइने उल्लेख गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।