काठमाडौँ । बुधबार सेयरबजार परिसूचक नेप्सेमा उच्च अंकको वृद्धि भएको छ । आज नेप्से ३३.२९ अंकले बढेर २६६४.०६ विन्दुमा कायम भएको छ । आज सेयरबजारमा ३४८ कम्पनीका सेयर कारोबार भएका छन् । जसमा २४१ कम्पनीका सेयरमूल्य बढेका छन्, ३५ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ भने,३ कम्पनीका सेयरमूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
आज कुल १ करोड ९३ लाख ९७ हजार ५४८ कित्ता सेयर ६३ हजार ७४४ पटकमा ७ अर्ब ४५ करोड ४६ लाख ७७ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम अघिल्लो दिन मंगलबारको तुलनामा २८.६१ प्रतिशतले बढी हो । मंगलबार ५ अर्ब ७९ करोड ९३ लाख ३० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आज सेयरबजारमा सूचीकृत समूहमध्ये व्यापार समूहको परिसूचक मात्रै घटेको छ भने बाँकी सबै समूहका परिसूचक बढेका छन् ।
आज बेनी हाइड्रोपावर प्रोजेक्ट, बुटवल पावर कम्पनी, सुपर खुदी हाइड्रोपावर लिमिटेड, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड तथा युनियन हाइड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै कमाएका छन् भने प्राइम डिवेञ्चर, गरिमा समृद्धि योजना, सिर्जनशील लघुवित्त वित्तीय संस्था, चिरख्वा हाइड्रोपावर तथा एनआईसी एसिया सेलेक्ट फण्डका सेयरधनीहरुले धेरै गुमाएका छन् ।
कारोबार रकमका आधारमा आज लिबर्टी इनर्जी कम्पनी शीर्ष स्थानमा रहेको छ। कम्पनीको आज ३२ करोड ५० लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, घलेम्दी हाइड्रोको कारोबार रकम २८ करोड रुपैयाँ नाघेको छ भने बुटवल पावर कम्पनीको करिब साढे २६ करोड रुपैयाँको शेयर कारोबार भएको छ।








