२५ वर्षपछि २२ लाख लागतमा क्यान्सर अस्पताल भवनको नक्सापास


चितवन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको भवनहरूको २५ वर्षपछि नक्सापास (अभिलेखीकरण) गरिएको छ । अस्पतालका २९ वटा भवनको एकैपटक नक्सापास गरिएको हो ।

विसं २०४९ मा शिलान्यास गरेर काम थालिएको अस्पताल विसं २०५६ बाट नियमित सञ्चालनमा आएको थियो । हाल पेट स्क्यान र बोनम्यारो प्रत्यारोपणका लागि भवन निर्माण गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने भएपछि भरतपुर महानगरपालिकामा भवनहरूको अभिलेखीकरण गरिएको हो ।

अस्पतलका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार भवन निर्माणको क्रममा कुनै पनि भवनको नक्सा पास नरहेकाले सबैको नक्सा बनाएर अभिलेखीकरण गरिएको हो । नक्सा बनाउन २२ लाख रुपैयाँ हाराहारी खर्च भएको छ । अभिलेखीकरणका लागि महानगरपालिकामा १ करोड ७८ लाख रुपैयाँ राजस्व बुझाएको उनले बताए ।

यी अस्पताल भवन चीन सरकारले निर्माण गरिदिएको हो । पछिल्लो समय केही भवन भने नेपाल सरकारले निर्माण गरेको थियो । बोनम्यारो प्रत्यारोपणका लागिसमेत चीन सरकारले भवन, उपकरण र जनशक्ति व्यवस्थापन सहयोग गर्दैछ ।

दीर्घकालिन प्रभावका महत्वपूर्ण काम भइरहेको उनले बताए । भवनहरूको अभिलेखीकरण भएसँगै अन्य महत्वपूर्ण कामअघि बढेको उनको भनाइ छ । जिल्लामा सरकारीस्तरमा जिल्ला प्रशासन कार्यालय र क्यान्सर अस्पतालका भवन मात्रै महानगरमा अभिलेखीकरण भएका छन् । धेरैजसो सरकारी कार्यालय भवन अभिलेखीकरण भएका छैनन् । रासस

प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार  १३ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।