लोघेकरका किसानलाई अनुदानमा हातेट्याक्टर


मुस्ताङ । लोघेकर दामोदरकुण्ड गाउँपालिकाले किसानलाई अनुदान सहुलियतमा हातेट्याक्टर (पावर टिलर) वितरण गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको वार्षिक स्वीकृत ‘कृषि यान्त्रिकीकरण’ कार्यक्रमअनुसार माग सिफारिसका आधारमा पाँचैवटा वडाका किसानलाई सोमबार पहिलो चरणमा अनुदान सहुलियतको हातेट्याक्टर वितरण गरेको हो ।

हातेट्याक्टर अनुदान दिन २५ लाख रुपैयाँ गाउँपालिकाले विनियोजन गरेको कृषि शाखा प्रमुख दीपक खड्काले जानकारी दिए। प्रमुख खड्काकाअनुसार गाउँपालिकाको अनुदान ४५ प्रतिशत र लाभग्राही किसानको ५५ प्रतिशत लागत साझेदारी रहनेगरी प्रति हाते ट्याक्टर ५६ हजार ५०० बराबरको १ सय थान हातेट्याक्टर वितरण गरिने छ ।

सोमबार पहिलो चरणमा वडा नं १ को चराङ र मराङमा ३५ थान र वडा नं ४ को ढी र सुर्खाङ गाउँका १० थान हातेट्याक्टर वितरण गरिएको शाखा प्रमुख खड्काले बताए।

गाउँपालिकाले दोस्रो चरणमा यहाँको वडा नं २, ३ र ५ का किसानलाई बाँकी ५५ थान ट्याक्टर वितरण गर्ने वडा नं १ का वडाध्यक्ष टैढिन्डुक ठकुरीले जानकारी दिए। परम्परागत रूपमा गोरु, झोपाको सहयोगमा खेत जोत्ने परम्परा रहे पनि पछिल्लो समय जनशक्तिको अभाव, युवा पलायन, परम्परागत शैलीबाट खेत जोत्न झन्झटिलो, लागत र समय बढी लाग्ने भएकाले कृषकलाई यान्त्रिकीकरण तर्फ आकर्षित गरिएको जनाइएको छ ।

प्रकाशित मिति: १० भाद्र २०८२, मंगलबार  १३ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।