हुण्डी ठप्प भएपछि रेमिट्यान्स आप्रवाहमा निरन्तर सुधार, चार महिनामा भित्रियो ३३७ अर्ब

0
Shares

चालु आर्थिक वर्षमा गत आर्थिक वर्षको तुलनामा रेमिट्यान्स आप्रवाहमा निरन्तर सुधार आएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिडका कारण विश्वअर्थतन्त्र शिथिल भइरहेको र रोजगारीका अवसरहरु समेत गुमेको अवस्थामा नेपालमा रेमिट्यान्स आप्रवहमा निरन्तर सुधार देखिएको छ ।

चालु आर्थिक वर्षको चार महिना अर्थात कात्तिक मसान्तसम्ममा विप्रेषण आप्रवाह ११.२ प्रतिशतले वृद्धि भई ३ खर्ब ३७ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २.८ प्रतिशतले घटेको थियो ।

दसैं तथा तिहार लगायतका चाडपर्वहरु परेकाले पनि यस अवधिमा रेमिट्यान्स आप्रवाहमा उच्च सुधार देखिएको हो । साथै कोरोनाका कारण हुण्डी कारोबार ठप्प भएपछि औपचारिक माध्यमबाट रकम भित्रने क्रम बढेकाले पनि रेमिट्यान्स आप्रवाहमा सुधार आएको हो ।

यसअवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.४ प्रतिशतले बृद्धि भई २ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.९ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७५.८ प्रतिशतले कमी आई १९२५१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.६ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६७.९ प्रतिशतले कमी आई २५९३१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९.१ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ८.८ प्रतिशतले वृद्धि भई ३ खर्ब ७३ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २.९ प्रतिशतले घटेको थियो ।

कोरोना भाइरसका कारण विश्वभरी रोजगार गुम्ने तथा आर्थिक गतिविधि ठप्प रहेको भएपनि नेपाल आउने रेमिट्यान्स झनै बढेको हो । वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएको अवस्थामा समेत रेमिट्यान्समा उल्लख्य वृद्धि आएको छ । विदेशमा रहेका नेपालीले कोरोना भाइरसको माहामारीका समयमा आर्थिक कारणले स्वदेशमा रहेको परिवारले समस्या भोग्न नपरोस् भनेर धेरै रकम पठाउँदा रेमिट्यान्स आप्रवाहमा वृद्धि भएको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।