सात वाणिज्य बैंकको कल निक्षेप सीमा भन्दा माथि

0
Shares

चालु आर्थिक वर्षको मंसिरसम्ममा ७ बाणिज्य बैंकको कल निक्षेपको रकम नेपाल राष्ट्र बैंकले तोकेको सीमा भन्दा माथि रहेको छ । बैंकहरुले राष्ट्र बैंकले तोकेको कुल निक्षेपको १० प्रतिशतसम्म मात्र कल निक्षेप लिन पाउने व्यवस्थालाई अवज्ञा गरेका हुन ।

एकिकृत निर्देशिका २०७७ अनुसार वाणिज्य बैंकले स्वीकार गर्ने कल निक्षेपको अंश कुल निक्षेप दायित्वको १० प्रतिशतमा हुनु पर्ने व्यवस्था छ । तर, चालु आर्थिक वर्षको मंसिरसम्ममा नबिल बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनआइसी एशिया बैंक, लक्ष्मी बैंक र प्रभु बैंकको कल निक्षेप १० प्रतिशत भन्दा धेरै छ ।

कल निक्षेपको सीमा नाघेको अवस्थामा कस्तो कारबाही गर्ने भन्ने सन्दर्भमा स्पष्ट व्यवस्था नभएको नेपाल राष्ट्र बैंकका एक अधिकारीले बताए । “तोकिएको सीमा भन्दा धेरै भएको अवस्थामा नेपाल राष्ट्र बैंकको नीति निर्माण तहले आवश्यक ठानेको खण्डमा नयाँ निर्देशन ल्याउन सक्छ,” उनले भने,“बैंकहरुले कल निक्षेपको सीमा नाघेको अनुपात कस्तो छ त्यसलाइ अध्ययन गरेर आवश्यक कारबाहीका लागि छलफल गर्नेछौ ।”

पछिल्लो समयमा बैंकहरुमा अधिक तरलता भएपछि निक्षेप तथा बचतमा धेरै ब्याजदर दिनुपर्ने अवस्था छ । बैंकहरुले लागत कम गर्नका लागि कल निक्षेपको अंश बढाएका हुन । वित्तीय प्रणालीमा अधिक तरलता भएपछि ब्याजदरमा आएको गिरावटका कारण नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत बचतको ब्याजदर नघटाउने नीति अबलम्बन गरेको छ । केन्द्रीय बैंकले बचत र मुद्दती निक्षेपको ब्याजदर अन्तर ५ प्रतिशत भन्दा धेरै हुन नहुने व्यवस्था गरेको छ ।

मंसिरसम्ममा नबिल बैंकको कुल निक्षेप १९७ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको कल निक्षेपमा मात्र २४ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । बैंकको कल निक्षेपमा रहेको रकम कुल निक्षेपको १२.३५ प्रतिशत हो ।

त्यसैगरी हिमालयन बैंकको १३६ अर्ब कुल निक्षेप रहेको छ । सो मध्ये बैंकको कल निक्षेपमा १६ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । यो रक बैंकको कुल निक्षेपको १२.०६ प्रतिशत हो ।

नेपाल इन्भेष्टमेन्ट बैंकले मंसिरसम्ममा १८१ अर्ब ९५ करोड रुपैयाँ कुल निक्षेप संकलन गरेको छ । यो मध्ये २० अर्ब ९२ करोड रुपैयाँ कल निक्षेपमा रहेको छ । यो रकम कुल निक्षेपको ११.५० प्रतिशत हो ।

एनएमबि बैंकले पनि चालु आर्थिक वर्षको मंसिरसम्ममा १३८ अर्ब ९१ करोड रुपैयाँ कुल निक्षेप संकलन गरेको छ । यसमा १५ अर्ब २९ करोड रुपैयाँ कल निक्षेपमा रहेको छ । यो रकम कुल निक्षेपको ११.०१ प्रतिशत हो ।

त्यसैगरी मंसिरसम्ममा २५५ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गरेको एनआइसी एसिया बैंकले पनि कल निक्षेपको सीमा नाघेको छ । यो अवधिसम्ममा बैंकको कल निक्षेपमा २८ अर्ब ६ करोड रुपैयाँ रहेको छ । यो रकम बैंकको कुल निक्षेपको १०.९८ प्रतिशत हो ।

चालुआर्थिक वर्षको पाँच महिनासम्ममा १०५ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरेको लक्ष्मी बैंकको कल निक्षेपमा मात्र ११ अर्ब २७ करोड रुपैयाँ रहेको छ । बैंकको कल निक्षेपमा रहेको रकम कुल निक्षेपको १०.७२ प्रतिशत हो ।

कल निक्षेपको सीमा नाघेका बै.कहरु मध्ये सबैभन्दा तल रहेको प्रभू बैंकले ालु आवको मंसिरसम्ममा १५९ अर्ब ६४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । यो अवधिमा बैंकको कल निक्षेपमा १६ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । यो रकम बैंकको कुल निक्षेपको १०.५५ प्रतिशत हो ।

मंसिरसम्ममा कल निक्षेपमा सबैभन्दा थोरै कुमारी बैंकको रहेको छ । कुमारी बैंकले मंसिरसम्ममा १२० अर्ब ८० करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकको कल निक्षेपमा ३ अर्ब ३२ लाख रुपैयाँ मात्र रहेको छ । बैंकको कुल निक्षेपमा कल निक्षेपको अंश २.७५ प्रतिशत मात्र हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।