बागलुङका किसानले २४ लाख लागतमा गराए ७०५ पशुको बिमा


बागलुङ । दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानका ७०५ पशुको बिमा गरिएको छ ।

जिल्ला सहकारी सङ्घमा आबद्ध बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाका शेयर सदस्यका ७०५ पशुको बिमा गरिएको सङ्घ अध्यक्ष दीपक गौतमले जानकारी दिए ।

कृषकबाट बिमा प्रिमियमबापत गत वर्षमा ४ लाख ८४ हजार ५०० रुपैयाँ र राज्यबाट अनुदानबापत १९ लाख ३८ हजार रुपैयाँ गरी जम्मा २४ लाख २२ हजार ५०० रुपैयाँ पशुधन सुरक्षण उपसमितिमा रकम दाखिला भएको छ । चालु आवमा पशुधन सुरक्षण कार्यक्रममा ७८ लाख ८० हजार रुपैयाँ सङ्कलन भएको उनले बताए ।

सङ्घले २४ वर्षदेखि १५ दुग्ध सङ्कलन सहकारीका १ हजार ५०० भन्दा बढी किसानको दैनिक ३ हजार ५०० लिटर दूध सङ्कलन, प्रशोधन तथा बजारीकरण गर्दै आएको छ ।

प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार  ११ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।