नेपाल धितोपत्र बोर्डले विशिष्टिकृत लगानी कोष व्यवस्थापकलाई अनुमति दिने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ ।
बोर्डले भेञ्चर क्यापीटल, प्राइभेट इक्यूटी तथा हेज फण्ड सञ्चालनका लागि विशिष्टिकृत लगानी कोष व्यवस्थापकलाई अनुमति दिने प्रक्रिया अन्तिम चरणमा पुगेको बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बताए ।

बोर्डले विशिष्टिकृत लगानी कोष व्यवस्थापक सम्बन्धी कानुनी व्यवस्था गरेपछि भेञ्चर क्यापीटल, प्राइभेट इक्यूटी तथा हेज फण्ड सञ्चालन गर्नका लागि ८ वटा कम्पनीले कोष व्यवस्थापकको अनुमती माग्दै बोर्डमा निवेदन दिइसकेका छन ।
विशिष्टीकृत लगानी कोष सञ्चालनका लागि व्यवस्थापकको अनुमती पाएपछि कम्पनीहरुले कोष पनि बोर्डमा दर्ता गर्नु पर्ने हुन्छ । विशिष्टिकृत लगानी कोष नियमावली अनुसार कोषको रकम कम्तीमा १५ करोड रुपैयाँ हनुपर्ने, कोष व्यवस्थापकले कोषमा न्यूनतम दुइ प्रतिशत हिस्सा लिएको र सो न्यूनतम हिस्सा कायम राख्ने व्यवस्था भएको, कोषका इकाइधनीको संख्या २ सय भन्दा धेरै हुन नहुने तथा कोष बन्दमूखी प्रकृतिको हुने व्यवस्था छ ।
साथै यस्ता कोषमा लगानी गर्ने इकाइधनीले नगद लाभांसको रुपमा मात्र प्रतिफल लिन सक्छन । त्यसका साथै इकाइधनीले कम्तीमा ५० लाख रुपैयाँको इकाइ खरिद गर्नु पर्ने व्यवस्था रहको छ । यसरी इकाइधनीवाट संकलन भएको पुँजी विभिन्न संस्था तथा क्षेत्रहरुमा लगानी गर्न सकिनेछ ।
विदेशी विशिष्टीकृत लगानी व्यवस्थापकले पनि नेपालमा कोष स्थापना तथा संचालन गर्न पाउने व्यवस्था रहेको छ । विशिष्टीकृत लगानी कोष सम्बन्धी नियमावलीमा विदेशी कोष र विदेशी लगानीलाई भित्र्याउन र प्राइभेट इक्वीटी फण्ड र भेन्चर क्यापिटल फण्डको दायरा विस्तार गरी डेब्ट इन्सन्ट्रुमेन्ट र ऋणलाई समावेश गरेको छ ।
विशिष्टीकृत लगानी कोष व्यवस्थापन गर्ने व्यवस्थापकले स्वदेशी मात्र नभै विदेशी कोषको समेत व्यवस्थापन गर्न पाउने छन । नेपालको कानूनको अधिनमा रही त्यस्तो कोष वा कोष व्यवस्थापकको पूर्ण वा अधिकांश स्वामित्वमा कोष स्थापना वा व्यवस्थापनको कार्य गर्न सक्छन । यस्ता कोषहरुमा द्विपक्षीय वा बहुपक्षीय अन्तराष्ट्रिय संस्थागत लगानीकर्ताको साथै विदेशी व्यक्ति, विदेशी फर्म, विदेशी कम्पनी, विदेशी संस्थागत लगानीकर्ता, विदेशमा दर्ता भएको कोष, विदेशी कोष व्यवस्थापक र अन्य यस्तै प्रकारको संगठित संस्थालाई समावेश गरिएको बोर्डले जनाएको छ ।
साथै बोर्ड अध्यक्ष ढुंगानाले पछिल्लो एक वर्षमा नै डिम्याट खाता हुने लगानीकर्ताको संख्या १६ लाखबाट २३ लाख पुगेको, दास्रो बजारमा अनलाइन कारोवार प्रयोगकर्ताको संख्या २२ हजारबाट २ लाख २० हजार पुगेको जानकारी दिए । त्यस्तै, नेप्से सूचकांक, कारोवार रकम तथा संख्या लगायत दोस्रो बजारका अन्य परिसूचकले नयाँ रेकर्ड कायम गरिरहेको, प्रारम्भिक सार्वजनिक निष्काशनमा लगानीकर्ताको आकर्षण बढिरहेको उनको भनाई थियो।
प्राथमिक बजारमार्फत् वास्तविक क्षेत्रका कम्पनीहरुले पूँजी परिचालन गर्न अग्रसर रहेको सन्दर्भलाई जोड्दै पछिल्लो समय धितोपत्र बजारको विकास विस्तार भइरहेको अध्यक्ष ढुंगानाको भनाई छ । त्यस्तै, उनले बोर्डले भर्खरै आईसीटी अपरेशन म्यानुअल लागू गरेको, ई केवाईसी सम्बन्धी निर्देशिका स्वीकृत गरी कार्यान्वयन गर्न पठाएको पनि जानकारी दिए । बोर्डमा बजार सहभागीले सूचना प्रवाह गर्दा इलोक्ट्रोनिक रिर्पोटिङ सिस्टम मार्फत् गर्न सक्ने व्यवस्था गर्न लागिएको बताउँदै दोस्रो बजार कारोवारमा बैंक इन्टिग्रशन गर्ने तथा ब्रोकरको टिएमएसलाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्ने बताए ।
बोर्ड अध्यक्ष ढुंगानाले धितोपत्र बजार विकास तथा विस्तारका लागि धितोपत्र बजारमा स्टक डिलर प्रवेश गर्न लागेका तथा वस्तु विनिमय बजारसम्बन्धी कार्य अगामी दिनमा अगाडि बढ्ने जानकारी दिए ।
प्राइभेट इक्यूटी तथा भेञ्चर क्यापिटलको काम
प्राइभेट इक्यूटी तथा भेञ्चर क्यापिटलले शेयर बजारमा सूचिकृत नभएका सार्वजनीक तथा निजी कम्पनीलाइ पनि सर्पोट गर्ने काम गर्छ । प्राइभेट इक्यूटी भन्दा पनि भेञ्चर क्यापीटलले लगानीकर्ताको दृष्टिकोणवाट केहि जोखिम युक्त हुन्छ।
प्राइभेट इक्यूटीले परिपक्क हुने कम्पनीलाइ सपोर्ट गरेर स्थापना गर्न वित्तीय सहयोग गर्छ । भेञ्चर क्यापीटलमा आइडीया, कन्सेप्ट र प्रविधिलाइ सपोर्ट गरेर कुनै पनि कम्पनीलाई वित्तीय सहयोग गर्न सक्छ । तर, यी दुबै लगानी योजनामा कुनै पनि कम्पनीको गुडविल, प्रडक्ट र सेवा मध्ये कुनै एक वा सबैलाइ आवश्यक वित्तीय सहयोग गरीन्छ ।
तर, हेज फण्डले उच्च जोखिम रहेका जुन सुकै क्षेत्रमा पनि लगानी गर्न सक्ने गरी सिमित व्यक्ति तथा समुहको पूँजीलाई परिचालन गर्ने गरी स्थापना भएको योजना हो । कोषहरुले ५ वर्ष देखि १५ वर्ष सम्मका योजनाहरु ल्याउन सक्छन।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया