स्वास्थ्य बीमा कार्यक्रम ६२ जिल्लामा पुग्यो, पुसमा थप ३ मा विस्तार हुने


स्वास्थ्य बीमा बोर्डले थप तीन जिल्लामा आफ्ना कार्यक्रम विस्तार गर्ने भएको छ । बोर्डले पुस महिनामा सल्यान, लमजुङ र पाँचथर जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम विस्तार गर्ने भएको हो ।

स्वास्थ्य बीमा कार्यक्रम छिट्टै सल्यान, लमजुङ र पाँचथर जिल्लामा पनि विस्तार गर्ने तयारी भैरहेको बोर्डका कार्यकारी अधिकृत दामोदर बस्यौलाले बताए । बोर्डले स्वास्थ्य बीमा कार्यक्रम शुरु गरिने जिल्लाहरुमा पहिलो चरणको काम सम्पन्न भैसकेको समेत उनको भनाइ छ ।

उनका अनुसार बोर्डले सेवा विस्तारका लागि पूर्व तयारी भईरहेका जिल्लाहरुमा सेवा प्रदायक संस्थाका स्वास्थ्यकर्मीहरुलाई तालिम समेत दिईसकेको छ । स्थानिय निकायका मेयर, उपमेयर, वडाअध्यक्ष तथा सम्पूर्ण पदाधिकारीहरुसँगको छलफल भईसकेको बोर्डले जनाएको छ । तीन वटै जिल्लाहरुमा दर्ता सहयोगी छनौटको प्रक्रिया पनि पूरा भईसकेको उनको भनाइ छ ।

नेपाल सरकारले २०७२ देखि स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको थियो । हालसम्म उक्त कार्यक्रम ६२ जिल्लामा विस्तार भएको छ । यसै आर्थिक वर्षमा सबै जिल्लामा कार्यक्रम पुर्याउने लक्ष्य बोर्डको छ । हालसम्म यस कार्यक्रममा ३४ लाख बढी नागरिक समेटिएका छन् । बोर्डले पछिल्लो समयमा उदयपुर र रसुवा कार्यक्रममा विस्तार गरेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।