पुस लागेपछि बैंकहरुमा ६२ अर्ब निक्षेप थपिँदा ६१ अर्ब कर्जा विस्तार

0
Shares

कोभिडका कारण थला परेको मुलकको अर्थतन्त्र पछिल्ला केहि महिना यता क्रमश चलायमान हुन थालेपछि बैंकहरुमा कर्जाको माग निरन्तर बढ्न थालेको छ ।

तिहार सकिए लगत्तै आक्रमक रुपमा कर्जा विस्तार गर्दै आएका बैंकहरुले चालु आर्थिक वर्षको पुस महिनाको १७ दिनमा मात्रै ६१ अर्ब कर्जा विस्तार गरेका छन् । यस अवधिमा बैंकहरुले ६२ अर्ब निक्षेप संकलन गरेका छन् ।

मंसिर महिना सुरु भएयता बैंकहरुमा कर्जाको माग ह्वात्तै बढेको छ भने बैंकहरुले समेत कर्जा विस्तारलाई जोड दिएका छन । संचालनमा रहेका २७ वाणिज्य बैंकले गएको साता मात्रै २७ अर्ब निक्षेप उठाएर २२ अर्ब कर्जा विस्तार गरेका छन् । पछिल्लो एक महिनामा बैंकरुले ७१ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा ७८ अर्ब कर्जा विस्तार गरेका छन् । पछिल्लो एक महिनाको तथ्यांक हेर्दा बैंकहरुले निक्षेप संकलन भन्दा ७ अर्ब रुपैयाँ बढी कर्जा प्रवाह गरेका छन् ।

नेपाल बैंकर्स संघका अनुसार पुस १७ गतेसम्म वाणिज्य बैंकहरुले ३७ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यसअवधिमा बैंकहरुले ३१ खर्ब ६१ अर्ब कर्जा विस्तार गरेका छन् ।

चालु आर्थिक वर्ष सुरु भएयता वाणिज्य बैंकहरुमा २ खर्ब ६९ अर्ब निक्षेप थपिएको छ भने यस अवधिमा बैंकहरुले २ खर्ब ५९ अर्ब कर्जा प्रवाह गरेका छन । गत असारको अन्तसम्म बैंकहरुमा ३४ खर्ब ८७ अर्ब निक्षेप रहेको थियो । सो अवधिसम्म बैंकहरुले २९ खर्ब ३ अर्ब कर्जा प्रवाह गरेका थिए ।

यतिबेला बैंक तथा वित्तीय संस्थामा प्रशस्त तरलता रहेको र ब्याजदर समेत सस्तो भएपछि नयाँ व्यवसाय गर्नेहरुले लगानीका लागि उपयुक्त अवसरको रुपमा लिएकाले पनि बैंकहरुमा कर्जाको माग बढेको देखिन्छ । साथै राष्ट्र बैंकले कोभिड प्रभावितका लागि ल्याएका सहुलियत कार्यक्रमहरुले पनि बैंकहरुको कर्जा बढेको हो । केहिदिन अघि मात्र अर्थमन्त्रालयले सहुलियतको कर्जा पहुँच विस्तार गर्न सरोकारवालाहरुलाई निर्देशन समेत दिएको थियो ।

कोरोना भाइरसको प्रभाव कम हुँदै गएपछि बैंकहरुमा कर्जाको माग आउन थालेको हो । पछिल्लो समय अर्थतन्त्र चलायमान बन्दै गएको छ । जनजिवन तथा व्यापार व्यवसाय पहिलेकै अवस्थामा फर्कर्ने चरणमा रहेकाले आर्थिक गतिविधि समेत बढेपछि बैंकहरुले कर्जा विस्तार गर्न थालेका छन ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।