नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ऐतिहासिक उचाई हासिल गरेपछिका लगातार दुई दिन बजारमा करेक्शन आएको छ ।
गत आइतबार हालसम्मकै उच्च अंक २१७५.४० पुगेको नेप्से सूचक त्यसपछि दुई दिन ओरालो लागेको छ । सोमबार ६.३६ अंकले घटेको नेप्से मंगलबार ३.५४ अंकले घटेर २१६५.४९ विन्दुमा झरेको छ ।
अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्न खोज्दा बजारले करेक्शनको बाटो समातेको हो ।
बजार करेक्शनतर्फ मोडिदा कारोबार रकममा कमी आएको छ भने उच्च मूल्यमा शेयर बिक्री गरेका लगानीकर्ताहरुले पोर्टफोलियो बदल्ने क्रम चल्दा सस्ता मूल्य भएका जलविद्युत कम्पनीहरुको शेयर मूल्य बढेको छ ।
मंगलबारको बजारमा २०६ कम्पनीको शेयर ४ अर्ब ५६ करोड ६३ लाख रुपैयाँ बराबरमा किनबेच भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा कम हो । सोमबार २०२ कम्पनीको ५ अर्ब ९६ करोड १७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
धेरै बढेपछि सामान्य करेक्शन आउनुलाई शेयर बजारमा त्यति नराम्रो मानिँदैन पौने २०० अंकको लगातारको वृद्धिपछि लगानीकर्ताले नाफा सुरक्षित गरी निस्क्न्छन् भने नयाँ लगानीकर्ताले खरीद गरी पुनः उच्च मूल्यमा बिक्री गर्ने भएकाले बजार धेरै तल झर्ने सम्भावना नरहेको एक लगानीकर्ताले बताए ।
सस्तो बैंक ब्याजदर, लगानीका अन्य क्षेत्रमा देखिएको संकुचन, प्राथमिक बजारमा लगानीकर्ताको आकर्षण र बैंकिङ्ग प्रणालीमा रहेको अधिक तरलताले दोस्रो बजारमा नयाँ लगानीकर्ताको प्रवेशका कारण पनि बजार वृद्धि स्थायी हुने लगानीकर्ताहरुको बुझाई छ ।

मंगलबार कारोबारमा आएका १२ उपसमुहका सूचकमध्ये जलविद्युत, विकास बैंक र निर्जीवन बीमा समूह सकारात्मक रहदा अन्य समूह ओरालो लागेका छन् । आजको बजारमा बैंक, वित्त, अन्य, जीवन बीमा, उत्पादनमुलक समुह लगायतका सूचक घटे ।
मंगलबारको बजारमा उच्च कारोबार हुने कम्पनीको सूचीमा शिखर इन्स्योरेन्स कम्पनी अग्र स्थानमा देखिएको छ । कम्पनीले आज मात्रै लाभांश घोषणा गरेको थियो । कम्पनीको शेयरमूल्य समेत बढेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया