काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका दिन धनवन्तरी त्रयोदशी अर्थात् धनतेरस मनाउने चलन छ । धन त्रयोदशी र धनतेरस पनि यसै दिनलाई भन्ने गरिन्छ । यो दिन मूख्यतः आयुर्वेदका प्रवर्तक धन्वन्तरि र धनका देवता कुबेरको जन्मोत्सव मनाउने पर्व हो ।
धनतेरसका दिन धन सम्पन्नताका लागि कुवेरको पूजा गर्ने गरिन्छ । यस दिन मानिसले मूल्यवान धातुका साथमानयाँ भाँडा कुडा र गरगहना किन्ने गर्छन् ।
त्यहि भाडा तथा मूर्तिमा दीपावलीको पूजा गर्ने प्रचलन रहेको छ । आजकै दिन समुद्र मन्थनको क्रममा भगवान् धन्वन्तरी हातमा अमृतको कलश लिएर प्रकट भएको भन्ने धार्मिक मान्यता रहदै आएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
भगवान् धन्वन्तरीलाई देवताका वैद्य मानिन्छ । उनी आरोग्य, स्वास्थ्य, आयु एवं तेजका देवतासमेत हुन् । भगवान् धन्वन्तरी भगवान् विष्णुका २४औँअवतारमध्येका एक हुन् ।
धनतेरसको दिनलाई घरघरमा समृद्धि भित्रिने दिनको रूपमा लिइन्छ । यस दिनमा गरिने किनमेललाई शुभ मानिन्छ । यस दिनलक्ष्मीको विशेष कृपा हुने विश्वासका साथविशेष सामग्रीहरू किनिने चलन रहेको हो ।
यस दिनविशेषगरी सुन, चाँदीतथापित्तलका भाँडाकुँडाको खरिद गर्ने गरिन्छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया पाँचदिनसम्म अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।
धनतेरसमा के–के किनिन्छ ?
भगवान् धन्वन्तरीलाई पित्तल मनपर्ने भएकाले यस दिन विशेष रूपमा पित्तलका सामानहरू किनिन्छ । नेपाली बजारमा यस दिन विशेष गरी पित्तलका थाल, गिलास, कचौरा, कलशहरूको खरिद–बिक्री हुने गर्छ । धनतेरसको दिन किनिएको कुवेर यन्त्रतथाश्री यन्त्रलाई शुभ मानिन्छ । यस दिन किनिएको यन्त्रलाई घरको दराज तथा पसल व्यवसायमा राख्नाले वर्षभर पैसाको कमी नहुने विश्वास गरिन्छ ।
साथै, यस दिन लक्ष्मी र गणेशको लोगो भएको चाँदीको सिक्का किन्ने प्रचलन छ । यसले घरमा शुभफल दिनुका साथै समृद्धि भित्रिने जनविश्वास रहेको छ ।
यस दिन धनियाँ किन्नु पनि अतिशुभ मानिन्छ । धनतेसरमा अधिकांशले कुचो किन्ने गरेका पाइन्छ । कुचो किनेर घरमा ल्याउँदा पैसाको अभाव नहुने तथा घर परिवारका सदस्यलाई रोगले नसताउने विश्वास रहेको समितिले जानकारी दिएको छ ।
धनतेरसमा कुन सामान किन्दा धेरै राम्रो
धनतेरसका दिन गणेश लक्ष्मीको मूर्ति, माटो वा फलामको दीयो, धनयन्त्र, आर्थिक लाभका लागि पानीका भाडा, कारोबारमा विस्तारका लागि धातुको दियो, सन्तान सम्बन्धी समस्याका लागि तामाको थाली, स्वास्थ्य तथा आयुका लागि घन्ट, घरमा सुख शान्ति र प्रेमका लागि खाना पकाउने भाडा किन्नु अति उत्तम मानिने पञ्चाङ्ग समितिले जानकारी दिएका छन् ।
धनतेरसका दिन के खरिद गर्दा अशुभ
धनतेरसका दिन फलामबाट बनेका सामग्रीहरु किन्नु हुँदैन। यदि किन्नै परे एक दिन अघि मात्र किन्नु पर्छ । शुभ कार्यका लागि फलाम अशुभ वस्तु मानिन्छ । बजारबाट किनेर ल्याएको भाँडा सिधै घर भित्र ल्याउनु हुँदैन । रित्तो भाँडामा पानी वा कुनै सामान भरेर मात्र घर भित्र लैजानु पर्छ । खाली भाँडो अशुभ मानिन्छ । स्टीलका सामग्रीहरु पनि किन्न नहुने र स्टीललाई फलामको दोस्रो रुप लिइने हुँदा धनतेरसमा यसबाट बनेका भाँडा कुडा किन्नु हुँदैन । यसको सट्टा कपर वा काँसका भाँडाकुडा किने लाभ हुन्छ।
त्यसैगरी, कालो रङको वस्तु किन्नु हुँदैन । धनतेरसलाई शुभ दिन मानिने भएकाले कालो रङको कपडा वा धातु किन्न राम्रो मानिदैन। कालो रङ दुर्भाग्यको प्रतीक मानिन्छ ।
यस दिन धारिलो हतियार किन्नु हुँदैन । चक्कु, कैंची वा कुनै धारिलो हतियार खरिद गरेमा अशुभ मानिन्छ । कतिपय व्यक्तिले धनतेरसलाई शुभ दिन मानेर सवारी साधन किन्ने गरेका हुन्छन्। तर धनतेरसमा सवारी किनेमा लाभ हुँदैन । यदि किन्नै परे धनतरेसको अघिल्लो दिन नै रकम भोक्तान गरेर मात्र किन्नुपर्छ।
सुनको विशेष महत्त्व रहेको हुन्छ। त्यसैले धनतेरसमा थोरै भएपनि सुन किन्ने परम्परा रहि आएको छ। यस दिन नक्कली सुन भने किन्नु हुँदैन। नक्कली सुनलाई अशुभ मानिने भएकाले नक्कली सुन किन्न नहुने हो । यस दिनतेलवा घिउ किनेमा राम्रो नमानिने समितिले जनाएको छ ।










प्रतिक्रिया