पूर्व तयारी बिना आयातमा प्रतिबन्ध लगाउँदा फूलमालाको भाउ उच्च


काठमाडौं । काठमाडौं महानगरपालिकाले यस पटकको तिहारमा विदेशी फूल आयातमा पूर्ण प्रतिबन्ध लगाएको छ । महानगरले स्वदेशी पुष्प व्यवसायीहरुलाई प्रत्सोहन गर्नको लागि भनेर फूल आयातमा प्रतिबन्ध लगाएको जनाएको हो ।

महानगरले तिहार अवधि भर, आगामी कात्तिक १ देखि ६ गतेसम्म, महानगरले ३२ स्थानमा स्वदेशी फूल बिक्री केन्द्र सञ्चालन गरेको छ।
महानगरले नयाँ बानेश्वरको एनभी सेन्टर, शङ्खमुल बिगमार्ट, आइप्लेक्स मल, मध्यबानेश्वर सेल्सबेरी, बत्तीसपुतली फिनिक्स टावर, चाबहिल एसी कम्प्लेक्स, केएल टावर, स्वयम्भु धर्मचक्रपार्क, कालिमाटी ब्याङ्क्वेट, कलंकी भाटभटेनी, महाराजगञ्ज सेल्सबेरी, पुतलीसडक स्टार मल, सुन्धारा काठमाडौं मल, पुरानो बसपार्कलगायतमा स्वदेशी फूल ब्रिी गरिरहेको छ । तर, ती ठाँउहरुमा पनि भाउ छोइनसक्नु भएको उपभोक्ता बताउँछन् ।

यसरी महानगरले पुर्व तयारी बिना फूल आयातमा प्रतिबन्ध लगाउँदा उपत्यकामा फूलमहङ्गो भएको छ । जसको प्रत्यक्ष मारमा आम सर्वसाधारण उपभोक्ताहरु परेका छन् । महानगरको यो निर्णयले उपभोक्ताहरुलाई दोहोरो मार पारेको छ । एकातिर बजारमा स्वदेशी फूलको उपलब्धता माग अनुसार नहुँदा मूल्य आकासिएको छ भने अर्काेतिर आयातित फुलको सहज पहुँच हुन सकेको छैन।

विगत वर्षहरुमा पर्याप्त मात्रामा उपलब्ध हुने सयपत्री फुल अहिले बजारमा धेरै महङ्गो भएको उपभोक्ताहरुको गुनासो छ । गत वर्षहरुमा लक्ष्मीपूजाको दिनमा पनि ४०० देखि ५०० रुपैयाँ प्रतिकेजीमा पाइने सयपत्री अहिले प्रतिकेजी ७०० रुपैयाँ पुगेको छ ।

यो वर्षको तिहारमा करिब ४० लाख फूलमाला खपत हुने अनुमान गरिएको छ । महानगरपालिकाले विदेशी फूलमा प्रतिबन्ध लगाउनुको कारण स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्नु र आयातमाथिको निर्भरता घटाउनु रहेको बताएको छ ।

स्थानीय र स्वदेशी पुष्प व्यावसायीहरुलाई प्रोत्साहन गर्न यस्तो निर्णय गर्दा स्वदेशी फुलउत्पादकहरुलाई फाइदा पुगे पनि विदेशी फुलले धान्दै आएको बजारको मागलाई पूर्ण रुपमा धान्न सकेको छैन ।

तिहारको समयमा विशेष गरी सयपत्री, मखमली, गुलाब जस्ता फुलहरुको माग अत्यधिक हुने गरेको छ । महानगरको तयारी बिनाको निर्णयले आफुहरुलाई भाउ बढेर आएकोले यस्तो समस्या आएको फूल व्यवसायीहरु बताउँछन् ।

प्रकाशित मिति: ४ कार्तिक २०८२, मंगलबार  १६ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।