तिहारपछिको पहिलो कारोबार दिन ११ हजार बढीले घट्यो सुनको मूल्य


काठमाडौं । तिहार पछिको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य ११ हजार ६०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँ कायम भएको हो । यस्तै चाँदी पनि प्रतितोला २६५ रुपैयाँले घटेर ३ हजार १५ रुपैयाँ कायम भएको छ ।

यस अघि कात्तिक ३ गते नेपाली बजारमा सुनको मूल्य प्रतितोला २५३ हजार ५०० रुपैयाँ र चाँदी ३ हजार २८० रुपैयाँ कायम भएको थियो । आइतबार अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ११३ डलर कायम भएको छ भने चाँदी ४८ डलर प्रतिऔंस कायम भएको छ ।

गत मंगलबार अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा १२ वर्षयताकै सबैभन्दा ठूलो गिरावट आएको थियो । मंगलबार एकैदिन सुनको भाउ ५.२ प्रतिशतले घट्दा चाँदीको मूल्य पनि ७ प्रतिशतले घटेको थियो । सुनको मूल्यमा सन् २०१३ यताकै एकैदिनमा आएको सबैभन्दा ठूलो गिरावट थियो । तर तिहारकको विदाको समय भएकोले नेपाली बजारमा सुनको मूल्य अध्यावधिक हुन सकेको थिएन ।

सुन बजारमा उच्च मूल्यमा खरिद गरेका लगानीकर्ताहरुले नाफा सुरक्षित गर्नका लागि ठूलो मात्रामा सुन बिक्री गर्दा सुनको मूल्यमा ठुलो गिरावट आएको इकोनोमिक टाइम्सले उल्लेख गरेका थियो । ३० असोज ३१ गते हालसम्मकै उच्च भाउ कायम भएको सुन त्यसपछि भने निरन्तर घट्न सुरु गरेको हो । त्यस दिन तोलाको २ लाख ५८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै पछिल्लो समयमा डलर बलियो हुँदा सुनको मूल्यमा दबाब परेको छ । सामान्यतया, डलर बलियो हुँदा सुनजस्ता सुरक्षित मानिने सम्पत्तिको माग घट्छ । यसले पनि सुनको मूल्यमा गिरावट आएको हो ।

द इकोनोमिक टाइम्सका अनुसार, “पछिल्लो समय भूराजनीतिक तनाव कम भएको विश्लेषण गरिएको छ । इजरायल(हमास युद्ध शान्तितर्फ उन्मुख हुँदैछ । अफगानिस्तान र पाकिस्तानबीच पनि शान्ति सम्झौता भयो भने चीन र अमेरिकाबीच सम्बन्ध सुधारका प्रयास भइरहेका छन् । यसैगरी, रुस र युक्रेनलाई शान्ति वार्तामा ल्याउने प्रयास पनि भइरहेको छ । यसले गर्दा लगानीकर्ताहरूले सुरक्षित मानिने सुनमा लगानी घटाएका छन् ।”

यसैगरि सुनमा लगानी सुरक्षित गरेका पैसावालहरू अब अन्य क्षेत्रमा लगानी गर्ने योजनामा देखिन्छन् । उनीहरू शेयर बजारमा लगानी गरिरहेका छन्, जसकारण सुनको मागमा कमी आएको छ र मूल्य घटेको छ ।

मंगलबार एकैदिन ४ हजार ३८१ डलर प्रतिऔंसबाट सुनको भाउ घटेर ४ हजार डलर ८२ डलरमा झरेको थियो । यस्तै चाँदीको मूल्य पनि घटेर ४७.१२ डलर प्रतिऔंस कायम भएको थियो । जुन सुन चाँदीमा आएको सन् २०१३ पछिकै सबैभन्दा ठूलो गिरावट थियो । यस गिरावटले अन्तर्राष्ट्रिय र नेपाली बजार दुवैमा ठूलो प्रभाव पारेको छ ।

प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार  ११ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।