धितोपत्र कारोबारको राफसाफ समायअवधि घटाइने, ‘टि प्लस टु’ लागू गर्न बोर्डको स्वीकृति

0
Shares

नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोवार राफसाफ तथा फछ्र्यौटको समायअवधि घटाउन सिडिएस एण्ड क्लियरिङ्गलाई स्वीकृति दिएको छ।

सिडिएससिले हालको T+3 लाई T+2 मा ल्याउन स्वीकृति माग गरेको थियो ।

नेपालको धितोपत्र बजारमा भइरहेको प्रविधिको बढ्दो प्रयोग तथा अन्तर्राष्ट्रिय अभ्यासलाई दृष्टिगत गरी धितोपत्र कारोवार राफसाफ तथा फछ्र्यौट प्रणाली T+2 मा गर्न लागिएको बोर्डक सह प्रवक्ता रुपेश केसीले नोटबजारलाई जानकारी दिए ।

धितोपत्र बोर्डले आ.व. २०७७/७८ को नीति तथा कार्यक्रममा हालको T+3 लाई T+2 मा ल्याउने घोषणा गरेको थियो । बोर्डकै निर्देशन बमोजिम सिडिएस एण्ड क्लियरिङ्गले आफ्नो विनियममा भएको व्यवस्था संशोधन स्वीकृतिका लागि बोर्डमा पेश गरेको थियो ।

बोर्डले धितोपत्र कारोवारको राफसाफ तथा फछ्र्यौट चक्र T+2 गर्ने गरी धितोपत्र कारोवार राफसाफ तथा फछ्र्यौट विनियमावली, २०६९ मा सो प्रयोजनको लागि विनियममा संशोधन स्वीकृति गरेको छ । उक्त व्यवस्था सिडिएस एण्ड क्लियरिङ्गले सार्वजनिक सूचना प्रकाशित गरी कार्यान्वयनमा ल्याउने छ । सिडिएसीका प्रवक्ता सुरेश न्यौपानेले बोर्डले T+2 लागू गर्न स्वीकृति दिएको जानकारी दिँदै सरोकारवाला निकायहरुसँग छलफल गरेर कार्यान्वयनको मिति तोकिने बताए ।

धितोपत्र कारोवारको राफसाफ तथा फछ्र्यौट चक्र छोटिई T+2 कायम भएसँगै धितोपत्रको तरलतामा बृद्धि भई बजार थप गतिशील हुने तथा लगानीकर्तालाई थप लगानीको अवसर प्राप्त हुने बोर्डको अपेक्षा रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ पुस २०७७, शुक्रबार  १५ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।